१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पत्रकार दामोदर न्याैपानेको चाैथो कृति ‘स्वर्णिम समय’ सार्वजनिक


२९ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडाैं । असोज २८ गते शनिबार काठमाडाैंको शिल्पी  थिएटरमा पत्रकार तथा साहित्यकार दामोदर न्यौपानेको चौथो कृति ‘स्वर्णिम समय’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ कथाकार माया ठकुरी, राजनीतिज्ञ नयनबहादुर स्वाँर, समालोचक कृष्ण प्रसाद गौतम, सञ्चारकर्मी हरिहर विरही र अञ्जु भट्टराईले पुस्तकको घुम्टो उघारेका थिए ।

कृतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता सुवासचन्द्र नेम्वाङ, नेत्री पम्फा भुसालदेखि ठाडो भाका गायक भेडीखर्के साइँला, अक्सिजन कविका रुपमा परिचित बालकृष्ण अधिकारी, कथाकार माया ठकुरी, कवि श्रवण मुकारुङ, संगीतकार सुरेश अधिकारी लगायत विविध विधाका ५१ व्यक्तित्वको बाल्यकाल अनुभूतिहरु समावेश छन् ।
कृतिको लोकार्पण पछि बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य समेत रहेकी ठकुरीले भनिन्, ‘अन्तर्वार्ता दिने क्रममा म आफ्नै बाल्यकाल सम्झेर भक्कानिएको थिँए । बच्चाबेलामा मैले अरुको घरमा काम गरेको छु । अरुले खाएर छोडेको खानाले पेट भरेका कुराहरु कृतिमा छन् ।’

कान्तिपुर दैनिकको साप्ताहिक बाल कोसेली ‘कोपिला’ संयोजन गर्ने क्रममा विभिन्न व्यक्तित्वको बाल्यकाल खोतल्न पुगेका न्यौपानेले त्यसैबेला पुस्तक लेख्ने योजना बनाइसकेको बताए । भने, ‘बाल्यकालका कुरा गर्दा मैले मान्छेका अनुभूतीहरु मात्रै सुनिनँ, तीनले त्यतिबेला सामना गरेका समाजको चित्र पनि उतार्ने प्रयास गरेँ । यसले पहिलेको समाज, संस्कृति, भूगोल, आर्थिक लगायत अवस्था बुझ्न सहयोग पुग्नेछ । यी पात्रले गरेका संघर्ष प्रेरणादायी हुनेछन् ।’

कार्यक्रममा पुस्तकका पात्रहरूसमेत सहभागी थिए । पुस्तक ईटर्नन पब्लिकेशनले प्रकाशन गरेको हो । न्याैपानेले केही हप्ता अघिमात्र बालचित्रकथा ट्यालेन्ट शो सार्वजनिक गरेका थिए ।  एम्बुसमा ६ वर्ष र कर्म उनका चर्चित कृति हुन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार  ५ : ४२ बजे