६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ह्यातमा एनआरएन आयोजकको रमिता, पुरानै प्रवृत्ति ओकल्दै प्रतिनिधि


२९ आश्विन २०७४, आइतबार  

0
Shares

आङछिरिङ शेर्पा

काठमाडौंको ह्यात होटलमा यतिखेर एनआएनएको कुम्भमेला लागिरहेको छ । शनिबारदेखि शुरु भएको यो मेलामा विगतमा भन्द धेरै प्रतिनिधिहरु भेला भएका छन् । एनआरएनएको ८ औं सम्मेलनको पहिलो दिन ह्यात परिसरमा निकै भिडभाड थियो । हलभित्र शान्त भिड भएपनि बाहिर प्रतिनिधि लामो समय लाइनमा उभिदाँ पनि आफ्नो नाम दर्ता गर्न नपाएकाले तनावको स्थिति उत्पन्न भयो ।

विदेशमै फारम भरी आइपुगेका प्रतिनिधिहरुलाई कार्यक्रमस्थलमा लामो लाइनमा बस्न लगाएर पासपोर्ट, ग्रिनकार्ड देखाएपछि मात्र औठा छाप लगाउनुपर्ने कडाइ गरिरहेका थिए । सम्बन्धीत मुलुकमा सबै जानकारी दिएर फाराम भरेर पठाइसकेपछि पनि नेपालमा त्यस्तो कडाई गर्नु जरुर थिएन ।

सम्मेलनको पहिलो दिन चर्को घाममा लामो लाइन बसेर पनि प्रतिनिधि पास नपाएर आपसमा विवाद गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ यसले एनआरएनलाई बेफाइदा तुल्याएको छ । यो घटनाले काठमाडांैमा लामो समयदेखि सम्मेलन गरिसकेका एनआरएनएको कमजोर ब्यवस्थापन र विदेशको सिस्टममा बसेर आएका नेपालीहरुको पुरानै कार्यशैली र नियत प्रष्ट देखिन्छ ।
धेरै मुलुकहरुबाट उत्साहजनक रुपमा काठमाडाैंमा भेला भएका प्रतिनिधिको सहाभागिताले एनआरएनएनलाई मात्र होइन स्वदेशलाई पनि केही फाइदा पुगेको छ । सम्मेलनमा आएका प्रतिनिधिहरुले परिवारसँग दशैंतिहार मनाउन पाउनुको साथै विभिन्न क्षेत्रमा धेरथोर लगानीको अवसर प्राप्त हुनु उपलब्धिको रुपमा मान्नुपर्छ ।

सम्मेलनमा भाग लिन आएका अधिकांश प्रतिनिधिहरु विदेशमा आफ्नो नियमित काम छाडेर आएका छन् । उनीहरुले सम्मेलनमा प्रतिनिधि शुल्कको रुपमा मात्र २ सय ५० डलर अर्थात २५ हजार नेपाली रुपैयाँभन्दा बढी तिरेका छन् । त्यहाँबाट काठमाडौंसम्मको हवाइ टिकटलगायत अन्य खर्चको लागि ५ देखि ७ लाखसम्म खर्च गर्नुपरेको छ । यसरी खर्च गरेर आउनेहरुको संख्या यस पटक १८ सय नाघेको छ । उनीहरु कतिपयलाई उम्मेदवारले आर्थिक व्यवस्था गरेपनि धेरै जसो आफ्नै खर्चमा आएका छन् ।

विभिन्न मुलुकको प्रतिनिधित्व रहेको एनआरएनले हरेक देशबाट प्रतिनिधि बोलाएपछि उनीहरुलाई निराश बनाउनु हुदैन्थ्यो तर पहिलो दिनमै दर्ता प्रक्रियामा भएको कमजोर व्यवस्थापनले अधिकांशलाई धेरैलाई निराश बनायो । बिहानदेखि लाइन लागेर पास नपाउनेहरु पनि थिए भने खानको व्यवस्थापन पनि कमजोर थियो । खान सकिएपछि कतिपय यसरी लाइन बस्नेहरुले खानै नपाएको भन्दै आक्रोश पोखे, जुन स्वाभावीकै थियो ।


पास समयमा नपाएको र लाइनमा धेरै बस्नु प¥यो भन्दैमा सिस्टममा बसेर आएका व्यक्तिहरु विवाद गरिहाल्ने प्रवृति गलत हो । सम्मेलनको पहिलो दिन प्रतिनिधिबाट रकम असुलेर पनि व्यवस्था गर्नु नसक्ने एनआरएनएको कमजोर व्यवस्थापन हो तर पास र खाना पाएन भनेर होहल्ला गरिहाल्ने व्यक्तिको कारण विश्वमाझ राम्रो सन्देश जाँदैन । यही ढंगले एनआरएन अघि बढे भविष्यमा यो भन्द धेरै घटनाहरु नहोला भन्न सकिन्न ।

एनआरएनएको ८ औं सम्मेलनको उद्घाटन कार्यक्रम सकिए लगतै आजदेखि संस्थागत विकासमा छलफल हुनेछ । तर सम्मेलनको माहोला भने कुन पदमा कसलाई जिताउने भन्नेमा केन्द्रित भएको देख्दा आश्चर्य लागिरहेको छ । नेतृत्व चयनकै लागि यतिखेर भित्रभित्रै पार्टीगत अभ्यासहरु भइरहेका छन् । विभिन्न मुलुक हुदैं केन्द्रसम्म भइरहेको पार्टी राजनीतिक अभ्यासले संस्थाको समग्र हित हुन सक्दैन ।

सम्मेलनमा पैसा खर्च गरेर भोटले जित्नु मात्र सबै कुरा होइन विश्वभरका सबै नेपालीहरुको भावनालाइ बुझेर संस्थाको हितमा लाग्न सक्नु महत्वपूर्ण हो । एनआरएनएन प्रवासी नेपालीको साझा संस्था बनाउने हो भने कोठे गुटउपगुटको राजनीतिक मानसिकताबाट अलग हुनुपर्छ ।
व्यापारीहरुको संस्था एनआरएनए हो भन्ने सोचलाई परिवर्तन गर्न विभिन्न क्षेत्रका उपयुक्त जनशक्तिलाई समेटन सकेमा मात्र एनआरएनए सबैको साझा संस्था बन्न सक्नेछ । अन्तमा अब आउने नेतृत्वले विदेशमा पैसाले किनेर बनाउदै आएको मेम्बरसीपलाई हटाएर स्वतस्फुर्त सदस्य बन्ने वातवारण बनाएर सबैले मेरो संस्था हो भन्ने महसुस गराउनु सक्नुपर्छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार  ८ : ४५ बजे