७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग


१५ कार्तिक २०७४, बुधबार  

0
Shares

काठमाडौं । लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ ।
तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम बुधबार(कात्तिक १५ गते) एक कार्यक्रमका बीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई प्रदान गरे ।

गत साउनमा गएको बाढीका कारण चितवन रत्ननगरको कुमाल वस्तीमा धेरैले क्षति बेहोरेको थियो । सोही स्थानमा विभिन्न सहयोग रकम जुटाउँदै गायक लामाले पाँच वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन् ।

लामाको उक्त अभियानबाट प्रभावित भएर थप घर बनोस भन्ने उद्देश्यका साथ तामाङ कोअपरेसनले सहयोग रकम पठाएको कोअपरेसनकी सदस्य पार्वती तामाङले जानकारी दिइन् । ‘यो हाम्रो सानो सहयोग हो, आगामी दिनमा थप सहयोग गर्ने कोसिसमा रहनेछौं,’ उनले भनिन् ।
आफ्नो अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गर्दै गायक लामाले कोअपरेसनका अध्यक्ष भोजकुमार दोङलगायत कोअपरेसन परिवारलाई धन्यवाद दिए । ‘फेसबुकको अभियान थियो, बाढी पीडितलाई घर, यसैमार्फत पाँच घर बनिसकेको छ, गरिबको घर बनाउने क्रममा तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट एक लाख तीनहजार रकम प्राप्त भयो, उहाँहरुलाई धन्यवाद, म पक्कै पनि यसको सही सदुपयोग गर्नेछु,’ गायक लामाले भने ।

घेदुङका अध्यक्ष गोले, घेदुङका सचिव रामकृष्ण लामा र तामाङ सञ्चार समूहका अध्यक्ष जगतमान दोङले सहयोगीप्रति आभार व्यक्त गर्दै लामाको अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार  २ : ५० बजे