६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पूर्वमन्त्रीहरू प्रदेशमा लड्दैः एकैपटक निर्वाचन हुदाँ छाँयामा प्रदेशका उम्मेदवार


१८ कार्तिक २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

पहिलो चरणमा मंसिर १० गते हिमाली र पहाडी गरी ३२ जिल्लाबाट ७४ प्रदेश सांसद चुनिदै छन् । तर, प्रतिनिधि सभाको निर्वाचन पनि एकैपटक हुने भएकोले प्रदेश सभाका उम्मेदवारहरु भने छाँयामा परेका छन् । प्रचारमा सबैभन्दा अघि प्रतिनिधिसभाका उम्मेद्वार अघि देखिएका छन् । प्रतिनिधिसभाका उम्मेदवारलाई दलहरुले महत्वका साथ प्रस्तुत गरिएको छ । यसले गर्दा प्रदेशका उम्मेदवारहरु छाँयामा परेका हुन् ।

प्रतिनिधि सभा छाडेर प्रदेशसभामा

संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुई÷तीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

एमाले नेता राजेन्द्र पाण्डे प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । धादिङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बनेका पाण्डे २०४८ को प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभाको सभासद्मा निर्वाचित भएका थिए ।

सोही क्षेत्रबाट विगतमा प्रतिस्पर्धी रहेका पाण्डे र नेकपा(माओवादी केन्द्र)का नेता शालिकराम जमरकट्टल यसपटक प्रदेश सभामा उम्मेदवार छन् । विसं २०६४ को संविधान सभामा निर्वाचित सभासद् जमरकट्टेल धादिङ क्षेत्र नं १ (ख)बाट उम्मेदवार हुन् ।

यस्तै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही पनि प्रदेश सभा सदस्यको उम्मेदवार हुन् । कालीकोटबाट दोस्रो संविधान सभामा निर्वाचित शाही यसपटक कालीकोट (ख) बाट प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई भोजपुर (ख), पूर्वविद्यार्थी नेता राजेन्द्र राई भोजपुर (क), पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही हुम्ला (ख), पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ लम्जुङ (ख) बाट उम्मेदवार बनेका छन् ।  पूर्वसभासद् नरेश भण्डारी जुम्ला (ख), २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह पनि यसपटक जाजरकोट (ख) बाट उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार  ५ : ४७ बजे