४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

राष्ट्रसंघमा एक घण्टा गाउन पाएँ, निकै गर्व लाग्यो–आनी छोइङ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

‘फूलको आखामा फूलै संसार, काँडाको आखामा काँडै संसार’ निकै मार्मिक यो गीतले हरेकको मनमष्तिष्कलाई छोएको छ । मानव जीवनसग प्रत्यक्ष सरोकार राख्ने यिनै गीतबाट चर्चा कमाएकी भिक्षुणी आनी छोइङ डोल्मा देशविदेशमा चर्चित छिन् । कुनै समय बौद्ध धर्म अध्ययनको क्रममा गुम्बामा भिक्षुणी बनेकी आनीको परिचय फेरिएको छ ।
उनको आत्मकथा ‘फूलको आँखामा’ पनि निकै लोकप्रिय भयो । आनी छोइङ धार्मिक सोचसंगै गीतसंगीतमा लागेर सक्रिय सामाजिक अभियान्तको रुपमा पनि चिनिएकी छन् । यसपटक गायिका आनी छोइङले संयुक्त राष्ट्रसंघको विशेष निम्तोमा राष्ट्रसंघमा आफ्नो स्वर र संगीत प्रस्तुत गरिन् । राष्ट्रसंघको बालबालिका सम्बन्धित युनिसेफको नेपालको एम्बासडरको रुपमा कार्यरत उनै गायिका आनीसँग एभरेस्ट टाइम्सका लागि आङछिरिङ शेर्पाले गरेको कुराकानीः
तपाई गुम्बाको भिक्षुणी हुनुहुन्थ्यो, कसरी गीतसंगीतमा लाग्नु भयो ?
बौद्धधर्म दर्शनको आध्यात्मिक चिन्तन जसले मेरो जीवनलाई सार्थकता तुल्याउनका साथै ज्यादै कल्याणकारी भूमिका खेलेको छ । यस्तो महत्वपूर्ण कुरालाई आफुभित्र मात्र सििमत नराखी फराकिलो रुपमा सबै माझ लैजान गीतसंगीतमा लागेकी हुँ ।
कसैबाट प्रेरणा पनि पाउनु भयो कि ?
भिक्षुणीको रुपमा अध्ययन गर्दा त्यतिखेर एक जना विदेशी संगीतकर्मी गुम्बामा आएका थिए । मैले पूजा गर्दा गरेको लय र धार्मिक धुनलाई उनले मन पराए र लागेर रेकर्ड गरे । मलाई पनि निकै रमाइलो लाग्यो । त्यही सिडी विभिन मुलुकमा पनि वितरण भएको रहेछ । त्यही क्रममा मलाई पनि बौद्धदर्शनलाई जनमानसमा पु¥याउन गीत गाउन प्रेरित गरियो ।
तपाईंका लक्ष्यहरु के थिए, ती लक्ष्यकै बाटोमा लागीरहेकै जस्तो लाग्छ ?
मेरो लक्ष्य र प्रार्थना भनेको पनि बौद्ध दर्शनको आध्यात्मिक चिन्तनमा आधारित रहेर ससाना बालबालिकादेखि पाका उमेरका सबैलाई गीतसंगीतको माध्यमबाट आनन्द दिलाउन भन्ने थियो । यही गीतसंगीतको माध्यमबाट दुःख पाएका बालबालिकालाई सहयोग गरेर उनीहरुलाई समाजको दक्ष व्यक्तित्व बनाउने थियो । यसै अभियानमा लागीरहेको छु ।
एक दशक अघिका दिनहरु सम्झदाँ कस्तो लाग्छ ?
एक दशक अघि गुम्बाको नियमित कार्यशैलीसंगै गीतसंगीतमा लाग्न त्यति सजिलो थिएन । सुरुको त्यतिबेला जोशजाँगर पनि निकै थियो । संघर्ष पनि निकै गर्नुप¥यो । त्यतिखेर आनी भएर गीत गाउने भनेर नकारत्माक टिप्पणी गर्ने पनि थिए । त्यही संघर्षको फलस्वरुप गीत संगीत क्षेत्रमा निरन्तर लागेअनुसार केही प्राप्त भए जस्तो लाग्छ । तर अहिले त आफुलाई पाको भए जस्तो लाग्छ । त्यसमा पनि सामाजिक सेवाको भावनाले कार्य गर्न पाउदा निकै रमाइलो लागीरहेको छ । यसको साथै समाजमा आनी भिक्षुणीले उच्च शिक्षा लिन सक्दैन भन्नेलाई निरुत्साहीत गरि मेरो विद्यालयका दुई जना आनीले आचार्य पास गरेकोमा निकै खुसी छु ।

अहिलेसम्म कति वटा एल्बम सार्वजनिक भयो ?
नेपाली र भोट भाषामा गरी अहिलेसम्म १३ वटा एल्बम भएछन् । यसमा ७ नेपाली छन भने ६ वटा धार्मिक मन्त्रहरु भोट तिब्बती भाषामा छन ।
विदेशमा कुन भाषामा गीत गाउनुहुन्छ ?
अहिलेसम्म प्रायः नेपालीमै गाएको छु । जर्मनमा नेपालीमा अनुवाद गरेको गाएको छु । त्यस्तै चीनमा चिनियाँ गीतकार र संगीतकारले बनाएको गीत चिनियाँ भाषामै गाएको छु ।
गीत संगीतको अतिरिक्त अहिले के मा व्यस्त हुनुहुन्छ ?
यतिखेर म विद्यालय चलाउछु । मेरो जीवनमा गीतसंगीतले जुन उपलब्धि भयो त्यही उपलब्धिको कारण मैले दुःख पाएको ८५ जना बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि पढाइरहेका छौ । गीतसंगीतबाटै आएको आम्दानीले मैले विद्यालयका बालबालिकालाई सहयोग गरिरहेकी छु । मैले सानैदेखि पढाएको बालबालिकाहरुमा २ जना भिक्षुणीले वनारस विश्वविद्यालयबाट आचार्य पास भएकोमा निकै खुसी भएकी छु । अब अरु सबै बालबालिकाहरु सवै उच्च शिक्षा लिएर विद्धान बनेर उनीहरुले पनि समाजको सेवा गरोस भन्ने मेरो चाहना हो ।
गत वर्षको भूकम्प आएपछिको अनुभव कस्तो रहयो ?
देशमा भएको महाविपत्तिले सबैलाई निकै दुखित तुल्यायो । कतिको त कहिल्यै पनि नर्बिसने दुःख भयो । त्यतिखेरको दुःखमा बाच्नेहरु सबैमा करुणा जागेको थियो । त्यो दुःखमा सवै जना एकले अर्कालाई सक्ने सहयोग गरिरहेको अवस्था हेर्दा आनन्द पनि आयो । दुःखले एक आपसमा करुणा पनि जगाउदा रहेछ । हामी त्यो दुःखमा सबै नेपालीहरु एक भयौ ।
राष्ट्रसंघमा गीत गाउदाको क्षण कस्तो थियो ?
अन्य दर्शकहरु भन्दा राष्ट्रसंघभित्र त्यो दिनको दर्शक अलि फरक थियो । मेरो मंगल उच्चरण मन्त्रसंगै कार्यक्रम सुरु भएको थियो । नेपालको प्रतिनिधित्व गदै पहिलोपटक निरन्तर एक घण्टा गाउनु पाउदा निकै गौरव लाग्यो । उहाँहरु पनि निकै खुसी भएको पाएँ । त्यतिखेर साथमा संगीतकार न्यहु बज्राचार्य, गोपाल रसाइली र रमन महर्जनको संगीतमा विभिन्न गीतहरु गाउनु पाउदा निकै खुसी लागेको छ ।
अबको योजनाहरु सुनाइदिनुहोस न ?
वर्षभरिमा कन्र्सटहरु गर्ने भनेर पुरै योजनामा राखेको छ । यो लगतै चीनमा हुन लागेको कन्र्सटमा गाउन जादैछु । नेपाल फर्केपछि कन्सर्टसँगै किड्नी अस्पताललाई ठुलो बनाउने छ । भूकम्पपछि सय जना बालबालिकालाई छात्राबृति दिने योजना बनाएको छु । जसमा त २३ एचआइभी प्रभावित बालबालिका रहेको छ । गीतसंगीतसंगै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने मुख्य योजना हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ७ : ०४ बजे