शुभप्रभात राई / काठमाडौं
सरकारले आदिवासी जनजातिका पर्वको बिदा कटौति गरेसँगै उनीहरू आक्रोशित बन्न थालेका छन् । शुक्रवार नेपाल आदिवासी जनजाति महासंघ यसको विरोधमा माइतीघर मण्डलामा उभिए ।
जनजातिका सांस्कृतिक पर्वहरू उधौलीउभौली, तमु/सोनाम/ग्यालबो ल्होसार, माघे संक्रान्ति, माघी लगायतमा बिदा दिँदै आएकोमा मन्त्रिपरिषदले हालै खारेज गरेको निर्णयलाई तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै नेपाल आदिवासी जनजातिले आन्दोलन सुरु गरेका हुन् ।
प्रदर्शन कार्यक्रममा लिम्बुवान मोर्चाका नेता कुमार लिङ्देनले सरकार तानाशाही भएको आरोप लगाउँदै जनजातिका अधिकारका लागि माइतीघर चोकमै शहीद हुन तयार रहेको बताए ।
उनले भने, ‘एउटा आदिवासी माझी माछा मार्न जाँदा थुनामा पर्ने, घाँस काट्न जाँदा निकुञ्जको थुनामा परिरहेका छन् त्यस्तै गैँडाको सिंग काट्ने तस्करीहरु भनेचै यहाँ आराम साथ पँधेरामा कुदिरहेका छन् । यसैले जनजातिका अधिकारका लागि यही चोकमा शहीद हुन तयार छु ।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सरकारले बिदा कटौति गरी आदिवासीको स्वाभिमान, पहिचान र अस्तित्व माथि ठाडै प्रहार गरेको आरोप लगाए ।
सरकारले माग पुरा नगरेसम्म निरन्तर आन्दोलनमा उत्रने उनले बताए।