१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकाका विभिन्न शहरमा साकेला मनाइँदै


२१ बैशाख २०७५, शुक्रबार  

0
Shares

सुरेश चाम्लिङ/एभरेस्ट टाइम्स

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको विभिन्न राज्यहरूमा किरात राईहरूको महान चाड साकेला (उभौली) भव्य रूपमा मनाउने भएको छ । साकेलालाई भव्यतापूर्वक मनाउन विभिन्न समितिहरू गठन गरिएको र उक्त समितिहरूले तोकिएको काम सम्पन्न गरी रहेको कुरा अर्गनाइजेसनका सभापति विष्णु राईले बताए ।

राईकाअनुसार केन्द्रीय समितिले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा डीएमभीपी(वासिङटन डिसी, मेरिल्यान्ड, भर्जिनिया, पेन्सलभानिया) लोकल च्याप्टरसँग संयुक्त रूपमा साकेला मनाउने भएको छ भने लोकल च्याप्टरहरू न्युयोर्क, न्युजर्सीले क्विन्स ब्रिज पार्क न्युयोर्कमा, न्यु इङल्यान्ड (म्यासाच्युसेट्स, न्यु हेम्प्सायर, कनेक्टिकट) लोकल च्याप्टरले बोस्टनमा, क्यालिफोर्निया लोकल च्याप्टरले सान फ्रान्सिस्कोमा कार्यक्रम गर्ने भएको छ ।

सल्लाहकार तथा साकेला कार्यक्रमका केन्द्रीय संयोजक मिलन राईका अनुसार कार्यक्रम मेरिल्यान्ड राज्यको बाल्टिमोर हन्ट भ्याली स्थित होटल म्यारियटको कन्भेन्सन हलमा अर्गनाइजेसनको कन्भेन्सन मे २६ मा हुने र साकेला कार्यक्रम भ्याली स्टेट पार्क उडलावनमा मे २७ मा हुने भएको छ । साकेलामा आउने पाहुनाका लागि सोही होटलमा कोठाहरू बुक गरिएको छ । प्रमुख अतिथि अमेरिकास्थित नेपाली राजदूतलाई निमन्त्रणा पठाई सकिएको राईले बताए ।

 

अर्गनाइजेसनका केन्द्रीय उप–सभापति मुना राईका अनुसार अमेरिकामा जन्मेका वा नेपालबाट सानो उमेरमा अमेरिका आएर स्कुल कलेज पढ्ने विद्यार्थी हरूलाई किरात मुन्दुम, साकेलाको महत्व र तीन चुलाको महत्वसम्बन्धी विभिन्न लेख रचना वा स्पीचको लागि आव्हान गरिएको छ । सल्लाहकार शिवकुमार राईकाअनुसार विभिन्न स्कुल तथा कलेजमा ग्राजुएसन गर्नेहरूलाई तथा अर्गनाइजेसनको संरक्षक आजीवन मानार्थ सदस्यहरूलाई प्रमाणपत्र दिइने छ । सल्लाहकार धौलबीर राईकोअनुसार विभिन्न राज्यदेखि आएर साकेला पर्फर्मेन्स गर्ने टोली हरूलाई तयारी अवस्थामा राखिएको छ ।

न्यु इङल्यान्ड च्याप्टरका अध्यक्ष मुक्तिनारायण राईका अनुसार मे १९ बोस्टनमा हुने कार्यक्रमको लागि बोस्टन र न्यु हेम्प्सायारमा योङ जेनेरेसनले साकेला सिलीको अभ्यास गरी रहेका छन् र प्रत्येक वर्ष साकेलाको उपलक्ष्यमा गरिने रक्तदान कार्यक्रम अमेरिकी रेडक्रसको व्यस्तताले गर्दा सेप्टेम्बरमा गरिने भएको छ । यसरी नै क्यालिफोर्निया लोकल च्याप्टरबाट बोर्ड मेम्बर जी एस राईकाअनुसार सम्पूर्ण नेपाली संघ संगठनलाई निमन्त्रणा गरिने र भब्य रुपमा जुन ९ मा साकेला गर्ने कार्यक्रम रहेको छ । न्युयोर्कमा जुन २३ मा साकेलाको मैजारो गरिने न्युयोर्क लोकल च्याप्टरका अध्यक्ष केशवराम राईले जानकारी दिए । उनका अनुसार नक्छुङको व्यवस्था भुटानी कम्युनिटीबाट गरिने छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  १० : २६ बजे