७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न नेविस‌ंघको माग


२७ जेष्ठ २०७५, आइतबार  

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा सिठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघले गत बिहीबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले गरेको निर्णयअनुसार मूल्यवृद्धिको विरोधमा आइतबार काठमाडौंमा सिठी जुलुस प्रदर्शन गरेको हो ।
दिउँसो डेढ बजे विश्वभाषा क्याम्पसबाट सुरु भएको सिठी जुलुस पुतलीसडक, कमलादी, त्रिचन्द्र क्याम्पस हुँदै भृकुटीमण्डप नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नलिएसम्म देशव्यापी रुपमा जारी आन्दोलन नरोकिने बताए ।
पहिलो पटक अन्तराष्ट्रिय कर लगाएर उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर जनतालाई अन्तराष्ट्रिय पहुँचबाट बन्देज लगाउन खोज्नु सरकारले मुलुकमा कम्युनिष्टकरण लागू गर्न खोजेको उनको भनाइ थियो । ‘‘मूल्यवृद्धिको विरोधमा यो हाम्रो काष्टिङ मात्रै हो, सरकारले हाम्रो माग सुनुवाइ गरेन भने आन्दोलनको आँधीबेहरी ल्याउनेछौं,’’ अध्यक्ष महरले भने ।
मूलयवृद्धिको विरोधमा नेविसंघले जेठ २९ गते मसाल जुलुस प्रदर्शन गर्ने र वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य खारेज नगरिए जेठ ३१ गते देशैभरका जिल्लाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेविसंघका सह-महामन्त्री एव प्रवक्ता प्रेम राज जोशिले बताए ।
यसअघि गत बुधबार नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै देशैभरीका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो । त्यस्तै नेविसंघले गएको मंगलबार मूल्यवृद्धि खारेजको माग गर्दै देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार  ७ : २३ बजे