६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ट्रम्प र किम पुगे सिंगापुर, बसे बेग्लाबेग्लै होटलमा


२७ जेष्ठ २०७५, आइतबार  

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ताका लागि सि‌ंगापुर पुगेका छन् । एेतिहासिक भेलामा सहभागी हुन किम ट्रम्पभन्दा केही घन्टा सि‌ंगापुरनै कोरिया पुगेका थिए ।

दुबै फरकफरक होटलमा बसेको बिबिसिले उल्लेख गरेको छ । दुई नेताबीच सेन्तोसा टापुमा मंगलबार वार्ता हुदैछ ।

 

जुन १२ मा ट्रम्प र किम जोङबीचको वार्ता हुने होटल यस्तो छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता  सिंगापुरको सेन्तोसा टापुमा हुने तय भएको छ ।

१२ जुनमा विपरित धारका यी दुई देशको शीर्ष तहमा छलफल हुँदैछ। वुधबारमात्रै ट्रम्पले योजनाअनुसार काम भइरहेको ट्विट गरेका छन् ।

उत्तर कोरियाले आणविक हतियार उत्पादन परित्यागको प्रतिवद्धता गर्नुपर्ने अमेरिकाको भनाइ रहँदै आएको छ ।

धेरैखाले सम्बन्धहरु विकसित भइरहेको छ, यात्रापूर्व धेरैखाले समझदारीहरु हुँदैछन्,’ ट्रम्पले भनेका छन्, ‘यो धेरै महत्वपूर्ण हो – अबका केही दिनहरु निक्कै महत्वपूर्ण हुनेछन् ।’

यो भेट अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ ।

ह्वाइट हाउस प्रेस सेक्रेटरी सारा स्यान्डर्सले ट्विटरबाट दुई शीर्ष नेताबीच पाँच तारे होटल कापेलामा वार्ता हुने पुष्टि गरेकी छिन् ।

तर, यी दुई नेता त्यहाँ बस्ने भने छैनन्। ट्रम्प सम्भवत सांग्रिला होटलमा रहनेछन्। किम भने सेन्ट रेगिस सिंगापुरमा रहने बताइएको छ । अर्किड रोड सपिङकै नजिकमा रहेका यी दुवै होटल मुख्य टापुमा नै छैन। ६३ टापु रहेको सिंगापुरको एक टापु हो सेन्तोसा ।

५ सय हेक्टरको टापुमा रहेको होटल मुख्य टापुबाट छोटो दुरीमा पर्छ। विगत केलाउने हो भने यो टापुले कालो इतिहास बोकेको छ – पाइरेसी, रक्तपात र युद्धको ।

यो टापुमा मुलत मलाय, चिनियाँ र इन्डोनेसियाका वुगिजहरु रहँदै आएका छन्। भारत र चीनका कारोबारीहरुलाई यहीँबाट पाइरेटेडहरुले लुट्ने गर्ने गरेका थिए ।

दोस्रो विश्वयुद्धको समयमा यस टापुमा ठूलो संख्यामा मानिस मारिए। सन् १९४२ मा बेलायती सेनाले जापानसामु आत्मसमर्पण गरेको थियो यहाँ। जापानीले यस टापुलाई स्योनान अर्थात् दक्षिणको प्रकाश भनेर नामाकरणसमेत गरेका थिए ।

चिनियाँ मुलका धेरैले यहाँ ज्यान गुमाएका थिए । जापानविरोधी तत्वलाई समाप्त पार्ने भन्दै गरिएका अपरेसनमा हजारौको मृत्यु भएको थियो। १८ देखि ५० वर्ष उमेरका चिनियाँहरु एकै ठाउँमा भेला गरेर मेसिन गनबाट प्रहर गर्दै समुन्द्रमा फालिएको थियो ।

सन् १९७० मा सिंगापुर सरकारले यस टापुको नाम सान्तोसा राख्यो जसको अर्थ हो शान्ति र सद्‍भाव । सँगै पर्यटकीय गन्तव्यका रुपमा यसलाई विकास गर्न थाल्यो ।

सन् १९८३ मा तेल खन्ने पनडुब्बीले पर्यटक बोकेको दुईवटा केबुल कारमा ठक्कर दिँदा पर्यटकहरु समुन्द्रमा डुबेर मरेका थिए ।

पछि यहाँ पर्यटकीय गतिविधि बढाउने गरी वाटर पार्क बनाइयो र सुरक्षा प्रत्याभूति गराइयो। पछि यसलाई स्टेट अफ फनका रुपमा पुन: विकास गरियो । यहाँ युनिभर्सल स्टुडियो थिम पार्क, नयाँ वाटर पार्क र रिसोर्टस् वर्लड क्यासिनो छन् जसले हजारौं आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउँछ ।

वार्ता हुने होटल भने ३० एकड जमिनमा बनेको छ । १ सय १२ रुम रहेको कापेला रिसोर्टको डिजाइन बेलायती आर्किटेक्ट नरमन फोस्टरले गरेका हुन्। यहाँ कोलोनियल इराका भवनहरु छन् । रिसोर्टले ‘पुरानो नयाँ लग्जरीको फ्युजन’ भन्दै व्याख्या गर्ने गरेको छ।

यहाँ प्रति रातको ५ सय डलरदेखिका रुम उपलब्ध छ । रिसोर्टमा रहेको प्रिमियर गार्डेन किङ रुमको मूल्य भने प्रति रात ७ हजार ५ सयबाट सुरु हुन्छ जसमा तीन बेडरुमसहित निजी स्विमिङ पुलसमेत छ ।

ह्वाइट हाउसका कर्मचारीले वार्ता हुने यस ठाउँको अनुगमन गरिसकेका छन् । डेपुटी चिफ अफ स्टाफ फर अपरेसन्सका जोइ हेगनसहितको टोली यहाँ बसेर सुरक्षाको अवस्थालाई डिटेलिङ गरिरहेको छ ।

वार्ताकै कारण यस होटलमा अहिलेदेखि १५ जुनसम्म पर्यटकका लागि खाली छैन ।

(बीबीसीबाट भावानुवाद गरिएको)

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार  १० : ३२ बजे