६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सरकार बनाउन देउवाको कसरत


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं : सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिनु एक दिनअघि कांग्रेसले आफ्ना पक्षमा समर्थन जुटाउन संसद्मा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गरेको छ । कांग्रेसले बुधबार प्रमुख विपक्षी दल एमाले नेतासँग छलफल गर्ने भएको छ । सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार सकिँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० मा राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि एक साताको समय दिनुभएको थियो । उक्त समय बुधबार सकिँदै छ । बुधबार सहमतीय सरकार गठन नभए बिहीबारदेखि सरकार गठन बहुमतीय प्रक्रियामा अघि बढ्नेछ । अहिलेसम्मको अवस्था हेर्दा बुधबार नै सहमतीय सरकार गठन हुन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।

आफैंले संसद् भवन नयाँ बानेश्वरमा मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ संविधानको पूर्ण कार्यान्वयन हुने भन्दै आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

देउवाले तराई-मधेसका समस्यालाई समाधान गरी संविधानलाई सर्वस्वीकार्य बनाउने पक्षमा आफ्नो दल रहेको धारणा व्यक्त गर्नुभएको थियो । ‘माघ ७ गतेसम्म तीनै तहको चुनाव सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने हामीबीच ठूलो जिम्मेवारी छ’, देउवाले भन्नुभयो, ‘संविधान कार्यान्वयन गराउनुपर्ने दायित्व संसद्मा रहेको सबै दलको भएकाले पनि सबैलाई सहमतीय सरकार गठनका लागि आग्रह गर्दछु ।’

देउवाले वर्तमान सरकारले तराई मधेसका समस्या समाधान गर्न संविधान संशोधन प्रस्ताव संसद्मा पेस गरेको बताउँदै उपयुक्त समयमा पारित हुने पनि उल्लेख गर्नुभयो । ‘संविधानलाई सर्वस्वीकार्य बनाउन हामीले तराई-मधेसका समस्या समाधान गर्न संशोधन प्रस्ताव दर्ता गरेका हौं’, देउवाले भन्नुभयो, ‘यसलाई हामी उपयुक्त समयमा पास हुने अवस्था आएपछि मतदानमा लैजान्छौं ।’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमतिअनुसार आफूले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिएको बताउनुभएको थियो । बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सहमतीय सरकार गठनको विषयमा संविधानमा उल्लेख प्रावधान नै गलत भन्दै लोकतन्त्रमा प्रतिपक्ष हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अध्यक्ष थापाले तीन प्रमुख दल सरकारमा सहभागी भए आफू प्रतिपक्षमा बस्ने तर दुई दल मात्रै सरकारमा सहभागी भए आफ्नो दल पनि सरकारमा सहभागी हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  ६ : ४४ बजे