१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गायन पहिरो रोजाईं, त्यसपछि मोडलिङ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

म त नुमाफुङ पो त भर्खर फुलेकी
रुप छ सुन्दर ए हजुर मन छ खुलेकी
यही गीतबाट चर्चामा छिन् गायिका अमृता सम्बाहाम्फे लिम्बु । हङकङ पुगेर पहिलो एल्बम ‘अमृता’ सार्वजनिक गरेपछि मिडियामा छाएकी हुन् उनी । आठ गीत रहेको एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साललगायतको संगीत रहेको छ भने जानु लिङ्देन, मुकेश राई, विर्सिका राईलगायतको शब्द रहेको छ ।
एल्बममा रहेको दुई गीत अर्जुन पोखरेलद्वारा संगीतबद्ध ‘म त नुमाफुङ पो त’ र सुमन राईद्वारा संगीतबद्ध ‘काँडा जस्तै बिझिसक्यो’ गीतको भिडियो युट्युबमा हेर्न सकिन्छ । उनले गाएको झुम्के माया बोलको गीत पनि युट्युबमा हेर्न सकिन्छ ।
पाँचथरको रानीगाउँमा जन्मीहुर्की प्लस टु सम्मको पढाइ सकेर काठमाडौं झरेकी उनी गायनमा लागेको ४ वर्ष पुरा भयो । ‘जति माया ग¥यो’ बोलको गीतबाट गायन सुरु गरेकी उनले मेनेजमेन्टमा ब्याचलर पुरा गरेकी छन् । यिनै गायिका अमृता लिम्बुसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

पहिलो एल्बम नै हङकङ पुगेर रिलिज गर्नुभयो, यसको रहस्य बताइदिनुस न ।
हङकङमा पहिलो सोलो म्युजिकल नाइट थियो । त्यही प्रस्तुतिका लागि गएको मौका पारेर सार्वजनिक गरेकी हुँ । पशुपतिको जात्रामा सिद्राको व्यापार भनेजस्तै एकै पटक दुईवटा काम गरेकी भनौं न ।
त्यता सार्वजनिक भएपछि हल्लाखल्ला बढी हुन्छ भन्ने लोभ पनि थियो होला ।
चर्चामा ल्याउन त काठमाडौंमै सार्वजनिक गरेको भए हुन्थ्यो । किनभने यहाँ धेरै मिडियापर्सनहरु हुनुहुन्छ । राम्रो कभर हुन्छ । हङकङबाट समाचारको कभर नै कम हुन्छ नि ।

अाफ्नै म्युजिक भिडियोमा मोडलिङ पनि गर्नुभएको छ, तपाईंको प्राथमिकता मोडलिङमा कि गायनमा ?
मेरो सानोदेखिको सोख मोडलिङमा थियो । तर, मोडलिङमा आफुले भनेजस्तै गरी अघि बढ्नका लागि परिवारबाट फुल सपोर्ट पाइनँ । बाआमाको कुरा पनि मान्नैप¥यो । त्यसपछि म विस्तारै आफ्नो मोडल बन्ने धोको पुरा गर्ने अर्को उपाय खोज्न थालें । गायन नै उपयुक्त ठाउँ लाग्यो । यो भन्दैमा म गायनमा त्यसै हामफालेकी हैन । नाचघरमा बेसिक कोर्स गरें । चर्चित गायक तथा संगीतकार मनोजराजसँग करिब दुई वर्ष गायन सिकें । अहिले चण्डी काफ्लेसँग सिक्दैछु । यसरी गायनमा आफुलाई निरन्तर साधना गरेपछि विस्तारै गीत गाउने मौका पाएँ । फिल्मका गीत गाएँ । सोलो गीत गाएँ । ड्वेट गीत गाएँ । अनि बल्ल आफ्नै गीत नुमाफुङमा मोडलिङ गरेकी हुँ ।
मोडलिङ र गायनलाई सँगसँगै लानुहुन्छ ?
गायन पहिलो रोजाई हो । किनभने अहिले म २४ घन्टै गायनबारे सोच्छु । सिक्दै छु । रियाज गर्दैछु । रेकर्डिङ हुदैछ । अहिलेसम्म आफ्नै गीतहरुमा मोडलिङ गरेकी हुँ । राम्रो प्रोजेक्ट पाएँ मात्र मोडलिङ गर्ने हो ।
आफ्नो गीतमा अरु मोडललाई नो चान्स हो ?
आफु फिट हुनेमा मात्र हो । मेरो एल्बममा रहेको काँडाजस्तै एल्बममा रोहणी लामा हुनुहुन्छ । त्यसैले अरुलाई नो चान्स भन्ने कुरा नै हुदैन ।
पहिलो एल्बममा कस्ता गीतहरु छन्, तपाईंलाई गाउन मनपर्ने विधा कुन हो ?
अरुणा लामा, अन्जु पन्तका गीतहरुले मलाई गायनमा आकर्षित गरेको हो । पहिलो एल्बममा आधुनिक, लोकदेखि सबै गीतहरु छन् । मलाई भर्सटायल गीत गाउन मनपर्छ । नेपाली गीत जुनसुकै विधाका भएपनि गाउँछु । यही विधाको भनेर अडिन्न ।
गायनमा आउनुभएको चार वर्ष बितेछ, यो अवधिसम्मको प्राप्तिमा कतिको सन्तुष्टि हुनुहुन्छ ?
म आफुलाई भाग्यमानी ठान्छु । यति समयमै धेरैले मन पराइदिनुभएको छ । आफन्तहरुबाट माया र सम्मान पाएकी छु । यसैबाट गाउन उत्साह मिलेको छ । चार वर्षमा एल्बम ल्याउन पनि निकै संघर्ष त गर्नैप¥यो । एल्बम ल्याउनुभन्दा ठुलो कुरा प्रतिस्पर्धाको छ । अहिलेको बजार खुल्ला प्रतिस्पर्धाको बजार छ । स्रोतादर्शकलाई मनपराउने र सबैको मन जित्ने खालको सिर्जना ल्याउन नसके बजारमा टिक्न गाह्रो छ । साँच्ची भन्ने हो भने अब बल्ल गायनको मैदानमा आइपुगेकी छु । सन्तुष्टिहरु अब खोज्नुपर्छ ।
अबको योजना के छन् ?
गायनलाई निरन्तरता दिने योजना छँदैछ । नौलोपन स्वाद दिने खालका गीत गर्ने तयारीमा छु । मुस्ताङमनाङ पुगेर सुटिङ गर्ने योजना छ । सँगैसँगै मोडलिङमा राम्रो प्रोजेक्ट पाए पक्कै गर्नेछु ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ५५ बजे