१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘न बिर्सू कसोरी’ लिएर आए गीतकार दिनेश अधिकारी


१२ मंसिर २०७५, बुधबार  

0
Shares

काठमाडौं। लामो समय अगाडीदेखि नै सांगीतिक क्षेत्रमा नाम कमाउन सफल गीतकार दिनेश अधिकारीले आफ्नो चार दशक अगाडि देखिका गीतहरु समग्र रुपमा समेट्दै गीतिसंग्रह बजारमा ल्याएको छ।

बुधवार अनामनगरस्थित सर्वनाम नाटक घरमा साङ्ग्री-ला बुक्सको आयोजनामा भएको कार्यक्रमाम गीतकार किरण खरेल, गीतकार यादव खरेल, संगीतकार दीपक जंगम, गायिका कुन्ती मोक्तान, गीतकार एवं संविधानविद डा भीमार्जुन आचार्य साथै लेखक अधिकारीले उक्त कृतिको घुम्टो उघारेका थिए।

गीतकार अधिकारीले कविता संग्रह आधा दर्जनको संख्यामा प्रकाशन भैसकेको छ, भने यो उनको चौंथो गीतिसंग्रह रहेको जानकारी दिए।

संविधानविद आचार्यले अधिकारी आफैमा सम्मानित नाम, उच्चकोटीका गीतकार, स्वदेशी भावको सन्देश दिन सक्ने थोरै मध्येका व्यक्ति भएको बताए।

दीपक जंगमले चार दशक अगाडि नै देशमा तहल्का मच्चाउन सफल भैसकेको गीतकार अधिकारी भएको उल्लेख गर्दै आफूलाई अधिकारी असाध्यै मनपर्ने गीतकार भएको चर्चा गरेका थिए।

बिर्सनै नसक्ने स्रष्टाको रुपमा चित्रित गर्दै यादव खरेलले भने अधिकारीका गीतहरुमा अर्थपूर्ण, देशप्रेम, राष्ट्रियता, मायाप्रीति, जीवन दर्शनकाभावहरु समेटिने र यी गीतहरु कालजयी टिकिरहने विश्वास व्याक्त गरे।

गीतकार अधिकारीले भने देश भक्ति, मायाप्रेम, जीवन दर्शन सवै प्रकारका गीतको सिर्जना गर्न मनपर्ने उल्लेख गर्दै भने, ‘मैले विसं २०३२ सालबाट गीत लेख्न शुरु गरें। पछिल्लो समय गीत गाउन सिक्ने क्रममा केही भाइबहिनीले आफ्नो गीत गाएर युट्युबमा अपलोड गरेको देख्दा चित्त बुझ्दो लागेन।’

श्रोताहरुकै अनुरोधमा आफ्नो चार दशक अगाडि देखिका सम्पूर्ण गीतहरुलाई देश परिवेश, घामको पश्चात र शिशिरको सुस्केरा तीन खण्डमा विभाजन गरी दुइ सय तीनवटा गीतहरुको समग्र रुप हो ‘न बिर्सू कसोरी’ गीतिसंग्रह।

अधिकारीले ‘पहाडमा जाडो बढे तराइले छेक्नु पर्छ’, ‘तिमी यसै लजायौ म उसै धकाए’ र ‘यो सम्झिने मन छ, म बिर्सू कसोरी’ बोलको तीन वटा गीत वाचन समेत गरे।

कार्यक्रममा गायिका मोक्तानले ‘नेपाल मेरो प्रतिक’, ‘उदाउँदो घाम’, र ‘बन्धन छ विपनिमा सपनीमा आउ तिमी’बोलको तीन वटा गीत प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ८ : १७ बजे