१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटको कार्की गाउँको फुटबल : परिवर्तन युथ विजेता बन्दा आयोजक उपविजेता


३० कार्तिक २०७५, शुक्रबार  

0
Shares

सूर्य मोक्तान/नुवाकोट

देशभर तिहारको उल्लास चलिरहँदा नुवाकोटको किस्पाङ गाउँपालिका अन्तर्गत वडा ५ मा पर्ने सानो गाउँ कार्की गाउँ भने फुटबलमय रह्यो । कातिक १९ गते काग तिहारबाट सुरु भएको प्रतियोगिता नौ दिनपछि २७ गते छठ पर्वको दिन भव्यताकासाथ सम्पन्न भयो ।

परिवर्तन युथ क्लब बन्यो विजेता

कातिक २७ गते भएको फाइनल खेल रोमाञ्चक रह्यो । पहिले हाफ गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमै परिवर्तन युथ क्लबले गोल गर्दै अग्रता लियो । लगत्तै कार्की मनकामना एकता युवा क्लबले गोल फर्कायो । केही मिनेटमै परिवर्तनले २-१ को अग्रता लियो । खेलको अन्त्यतिर कार्की गाउँले गोल फर्काएर खेललाई बराबरीमा रोक्यो । निर्धारित समयमा २ – २ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टी प्रहारमा कार्कीका एक खेलाडीको प्रहार गोल पोस्टबाट बाहिरियो भने परिवर्तनका किप्परले एक उत्कृष्ट बचाउ गरे । जसले गर्दा परिवर्तन युथ विजेता बन्यो ।

पहिलो हुन सफल परिवर्तन युथ क्लब कहुलेलाई  नगद ३० हजार , ट्रफी ,मेडल र प्रमाणपत्र, दोस्रो कार्की मनकामना एकता युथ क्लबलाई  २० हजार, ट्रफी ,मेडल र प्रमाणपत्र र तेस्रो हुने समाजसेवी युथ क्लब – पुरानो गाउँलाई  ८ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडी कार्की मनकामनाका धनबहादुर तामाङ र उत्कृष्ट गोलकिपर परिवर्तनका बिक्की तामाङ बने ।

पुरस्कार वितरण गर्दै अतिथिहरूले खेलप्रति युवाहरूको उत्साह , अनुशासन देखेर खुसी लागेको र आगामी दिनमा युवाको क्षमता अभिवृद्धि, खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फाइनलमा मानबहादुर तामाङ रेफ्री, अजय तामाङ र मोले तामाङले सहयोगी रेफ्रीको भूमिकामा थिए ।

कार्की मनकामना एकता युवा क्लबका अध्यक्ष डिलबहादुर तामाङको सभापतित्वमा सम्पन्न फाइनल खेलमा नुवाकोट क्षेत्र २  का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाको प्रमुख अतिथि थिए । कार्यक्रममा जिल्ला प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, किसपाङ गाउँपालिका वडा ५ का वडाध्यक्ष नरहरि भट्ट, नेकपा पार्टीका जिल्ला नेता यम खतिवडा , गैर सरकारी संघका पूर्व अध्यक्ष पदम भट्ट, स्थानीय अगुवाहरू किस्नबहादुर तामाङ, अंमिक मोक्तान, महेन्द्र तामाङ, हरिबहादुर तामाङ, राजु तामाङ, हर्क तामाङ, धर्मसिंह तामाङ, रेगमान तामाङ, इन्द्र तामाङ, गोम्बोछिरिङ तामाङ, योसिङ तामाङ, उत्तम तामाङलगायत अतिथिका रूपमा उपस्थित थिए ।

२४ समूह सहभागी

प्रतियोगितामा किस्पङ गाउँपालिकाका गाउँहरू माने गाउँ , कार्की, काहुले , पुरानो गाउँ, भाल्चे, नुचेत त्यसै गरी रसुवाका गाउँहरू डाँडा गाउँ  र पैरे गरी २४ समूह सहभागी थियो । लिग चरणमा खेलाइएको खेलमा परिवर्तन युवा क्लब – काहुले, नुचेत युथ क्लब-नुचेत, कार्की मनकामना युथ क्लब र समाजसेवी युथ क्लब पुरानो  गाउँ सेमिफाइनल पुग्न सफल रह्यो । सेमिफाइनलमा कार्की मनकामना एकता युथ क्लबले नुचेत युथ क्लब  लाई ३-१ ले हराउँदै र परिवर्तन युथ क्लबले समाजसेवी युथ क्लबलाई पनि ३-१  हराउँदै परिवर्तन युथ क्लब र कार्की मनकामना एकता युथ क्लबले फाइनल को यात्रा तय गरेको थियो ।

आयोजक क्लबका युवाहरू राजु तामाङ, किसान मोक्तान, डिलबहादुर तामाङ, सागर तामाङ, योसिङ तामाङलगायत युवाको जोसले कार्यक्रम सफल रह्यो ।

यसरी पायो खेलले निरन्तरता

काठमाडौंबाट करिब ८४ किमीको दुरीमा रहेको कार्की गाउँ फुटबल प्रेमीहरूको गाउँ हो । करिब १६ वर्ष अघि गाउँको बीचमा कोदो, मकै बारी रहेको टारलाई सम्म पारी मैदान बनाएका थिए । त्यही बेला स्थानीयको सहयोगमा फुटबल प्रतियोगिता आयोजना भएको थियो । उक्त कार्यले ३ वर्षसम्म निरन्तरता पाएको थियो । बीचमा युवाहरू बिर्सिदिने र गाउँको बिचको सम्म टार घरहरूले भरिँदै जाँदा खेल सम्भव भएन । तर खेल प्रेमले नयाँ सपना बन्यो । स्थानीय अगुवा फुटबल प्रेमी किसान मोक्तानको अगुवाइमा गाउँको माथि खाली जग्गामा फुटबल मैदान बन्यो र देशविदेशमा रहेका युवाहरूबाट २ लाख भन्दा बढी र सरकारबाट १ लाखको सगयोगमा मैदान तयार भयो । मैदान लाई फराकिलो र व्यवस्थित बनाउन गाउँपालिकाबाट ५ लाख बजेट हालै विनियोजित भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  २ : ४० बजे