एपेन्डिसाइटिसको अपरेशन पछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

November 26, 2019

काठमाडौं– एपेन्डिसाइटिसको शल्यक्रिया पछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान अस्पताल गएका थिए ।

उनको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न छन् ।

 

सम्बन्धित समाचार