४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कांग्रेस विधान केन्द्रीय समितिमै अड्कियो, पदाधिकारी समावेशी नभए पारित हुन नदिइने अडान


४ पुस २०७५, बुधबार  

0
Shares

काठमाडौं। महासमितिमा अनुमोदनका लागि लैजान लागिएको नेपाली कांग्रेसको विधान केन्द्रीय समितिमै अड्किएको छ । पदाधिकारीबारे विवाद बढेपछि मंगलबार राति शीर्ष नेताबीच सहमति जुटेको थियो ।

उक्त विधान कांग्रेस केन्द्रीय समिति बैठकले पारित गर्नुपर्ने प्रावधान बमोजिम बुधबार केन्द्रीय समितिमा प्रस्तुत गरियो ।

बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा पूर्णबहादुर खड्काले प्रस्तुत गरेको विधान ख्यालख्यालको भएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाए ।

बैठकमा गगन थापादेखि बहादुरसिंह लामासम्मले पदाधिकारी समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए ।

केन्द्रीय सदस्य थापाले संरक्षण एकपटक मात्र पाउनुपर्ने  विषय विधानमै समेट्नुपर्ने धारणा राखे । केन्द्रीय सदस्य लामाले समावेशी लागु नगरे विधान अनुमोदनै गर्न नदिने अड्डी कसे । त्यसैगरी केन्द्री सदस्य महेन्द्र यादवले  पदाधिकारीमा मधेसी, जनजाति र महिलाको प्रतिनिधित्व सुनिश्चित हुनपर्ने माग गरे ।

कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गरेर महासमितिमा पेश गर्ने तयारी गरेको थियो । बुधबारको बैठकमा सहमति नजुटेपछि केन्द्रीय समिति स्थगित भएको छ । अर्को केन्द्रीय समितिबाट विधान पारित गरेपछि मात्र महासमितिमा विधान पेश गरिनेछ ।

यही विधान संशोधनका लागि मंसिर २९ देखि राजधानीको यगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक शुरु भएको थियो । मंगलबार समापन गर्ने तयारी रहेको महासमितिमा विधान मस्यौदा पेश हुन नसक्दा महासमिति नै अन्यौलमा परेको छ ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  ७ : २८ बजे