६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

सांसद पदको शपथग्रहणपछि सदरखोर नै फर्के रेशम चौधरी


१९ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौ‌ं । प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन् ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाएका हुन् । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए । चौधरीलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गरे ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए ।

शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी थिए ।

सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पुर्या‍इएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ८ : २५ बजे