न्युयोर्ककमा डा. सन्दुक रुइतले भने–  ‘लगनशील भएर काम गरे सफलता’

February 19, 2020

एभरेस्ट संवाददाता
न्युयोर्क । आँखा स्वास्थ्यमा चर्चा कमाएका डा. सन्दुक रुइतले बुवा, दिदी, शिक्षकको प्रेरणाले विकट ठाउँबाट यहाँसम्म पुगेर सामाजिक सेवामा प्रवेश गरेको बताएका छन् ।

लामो प्रतिक्षापछि न्युयोर्क आइपुगेका डा. रुइतको जीवन संघर्ष, सत्कर्म र प्रेरणादायी अनुभव सुन्न विभिन्न राज्यबाट युवाहरुको भीड लागेको थियो । न्युयोर्कमा भ्याइस फर युथले आयोजना गरेको कार्यक्रममा डा. रुइतले दिदीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेका कारण आफू चिकित्साशास्त्र अध्ययनमा लागेको बताए । कैयौं दृष्टिविहीनलाई आँखाको ज्योति दिन सफल डा.रुइत युवापुस्ताका प्रेरणाका स्रोत बनेका छन् ।

चर्चित डा. रुइत सन् २००६ मा रमन म्यागासेसे पुरस्कार पाउने प्रख्यात् नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन् । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतले कार्यक्रममा आफ्ना अनुभूति सुनाउँदै युवाहरुलाई आफ्नो जन्मभूमि र प्रेरणा दिने व्यक्तिलाई नबिर्सेर लगनशील भएर काम गरे सफलता पाइने सन्देश व्यक्त गरे ।

तस्बिर सौजन्य : लाल तामाङ पाख्रिन, न्युयोर्क 

आँखा उपचारको क्षेत्रमा उत्कृष्ट काम गरेबापत उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका छन् । उनले एशियाको नोवेल पुरस्कार मानिने रमन म्यागासेसे, एशिया गेम चेन्जर्स अवार्ड लगायतका पुरस्कार पाइसकेका छन् । आफू आधुनिक सुविधाबाट एकदमै बञ्चित रहेको विकट गाउँमा जन्मे पनि बुवाले सिकाएको संघर्ष र दिदीको प्रेरणाले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको बताए । कार्यक्रममा उनले सुदूर पूर्वको विकट कुना ओलाङचुङगोलाबाट यहाँसम्म पुग्दा विभिन्न असहजता पार गरेको बताए । ‘दुर्भाग्यवश म त्यो ठाउँमा जन्मे जुन नेपालको उत्तरी पहाडको एउटा सुदूर कुनो थियो । जसलाई ओलाङचुङगोला भनेर चिनिन्छ । जुन तमोर हिमालको टुप्पोमा पर्छ । जुन कञ्चनजंगाको फेदमा पर्छ । जसलाई तेस्रो ठूलो हिमालको रुपमा पनि चिनिन्छ । तमोर हिमालको टुप्पोमा भएको एउटामात्र हाम्रो गाउँ हो । हाम्रो गाउँ सबै आधुनिक सहरीकरणबाट टाढा थियो,’ उनले भने, ‘हाम्रो गाउँबाट सेवासुविधा भएको ठाउँमा पुग्न कम्तीमा ४/५ दिन लाग्थ्यो ।’

डा. रुइतले नेपाली परम्पराको आशीर्वादका कारण नैतिक मूल्य पाएको बताए । उनले आफ्नो गाउँमा जन्मे बिहेका संस्कारमूलक कार्यक्रम हुने गुम्बाबाट सामाजिक र परम्परागत मान्यता सिकेको बताए । बुवाले मलाई संघर्ष र शिक्षामात्र नभइ सामाजिक र नैतिक मूल्य–मान्यताबारे पनि राम्ररी प्रेरणा दिएको बताए ।

उनले अभिभावकले सन्तानलाई सफल भएको हेर्न सकिनसकी र ठूलो संघर्ष गरेर पढाउनका लागि यहाँ पठाएको कुरा मनन गर्न सुझाएका छन् । ‘वास्तवमै हाम्रा अभिभावकहरु महान् छन् । तपाइँहरु सबै यहाँ पढन् आउनुभएको छ । तपाईमध्ये कति जनाका अभिभावकहरुले आफ्नो क्षमता नहुँदा नहुँदै पनि यहाँ पढ्न पठाउनु भयो होला र तपाईलाई सफल व्यक्तित्व देख्नलाई कति संघर्ष गर्दै होलान्,’ उनले भने, ‘मेरो बुवाको पनि क्षमता थिएन । मलाई राम्रो शिक्षा दिलाउन, त्यतिबेला बुवाले मलाई हाम्रो गाउँबाट १४/१५ दिन हिँडेर दार्जिलिङ लगेर जानुभयो ।’ आफू दार्जिलिङमा पढाइका क्रममा भेषभूषा र भाषाले असहज अवस्था आएको समेत बताए ।

आफ्नो परम्परागत अथवा पारिवारिक कामभन्दा केही अलग काम गर्ने प्रेरणा बुवा र मेरो प्रिन्सिपलले प्रेरणाले आफूले चिकित्साशास्त्र अध्ययन गर्न थालेको उनले बताए । धेरै समस्याका बीच पनि मैले समाधानको रुपमा त्यो स्कुलका प्रिन्सिपल फादर मिकोलाई सहयात्री र सहयोगीका रुपमा पाएको उनले बताए । प्रिन्सिपलले पढेका र सिकेका कुरा जीवनमा लागू गर्न सिकाएका कारण यहाँ पुगिएको बताए । ‘उहाँ मेरो प्यारो शिक्षकसँगै मित्र र प्यारो अभिभावक हुनुहुन्थ्यो । उहाँले कामलाई जीवनको महत्वको बारेमा बुझाउनु हुन्थ्यो,’ उनले भने, ‘उहाँले मलाई पढ्न सिकाउनुहुन्थ्यो, पढेका र सिकेका कुरा आफ्नो जीवनमा लागू गर्न सिकाउनुहुन्थ्यो ।’

गाउँबाटै पहिलो चिकित्साशास्त्र उनी दिदीसँगै काठमाडौंमा बसेर पढ्न गएका थिए । क्षयरोगले दिदी बिरामी परेपछि उनलाई झन् समस्या भएको थियो । ५ महिनासम्म औषधिले दिदीलाई निको नभएपछि घर फर्काएका थिए । ‘वनस्थलीको महेन्द्र स्कुलमा पढ्ने दिदी र म साथीजस्तै थियौं । दिदीले गीतसमेत गाउनुहुन्थ्यो । उहाँले गाएको मैले मीठो मानेर सुन्थे । हामी घुम्ने र सिनेमा हेर्न गाथ्यौं,’ उनले सम्झिए, ‘अचानक दिदीलाई टिबी रोग लाग्यो । डाक्टरले ५ महिनासम्म औषधि दियो । औषधिले काम गरेन दिनदिनै रोगले च्याप्दै गयो । धेरै प्रयास गरे डाक्टरले अर्को औषधि दिए । दिदीलाई घर लैजाने कुरा भयो । डाक्टरले घर लैजाने कुरा गरेपछि फर्कायौं ।’

उनको परिवार बाढीले पुख्र्यौली थलो ओलाङचुङगोलाबाट विस्थापित भएर धनकुटा बसेको थियो । बिरामी दिदीलाई काठमाडौंबाट धनकुटा लगिएको उनले बताए । रोगले थलिएर कमजोर बनेकी दिदीले आफूमा समाज परिवर्तन गर्न सक्ने क्षमता देखेको भनेको सम्झँदै उनले दिदीले समाज र देशका लागि केही गरेर देखाउनु पर्ने प्रेरणा दिएका कारण यहाँ पुगिएको बताउँछन् । ‘बुवा आमा बाढीले गाउँ छाडेर धनकुटा सरेका थिए । दिदीलाई धनकुटाको हिलेमा लग्यौं । अन्तिम समयमा मेरो दिदी धेरै कमजोर भइसक्नु भएको थियो । उहाँको शरीरमा कुनै शक्ति थिएन । हाड र छालामात्र थियो । अन्तिम समयमा दिदीले मलाई भन्नुभयो, भाइ समाजलाई परिवर्तन गर्न सक्ने क्षमता मैले तिमीमा देखेको छु । तिमीमा यो समाजका लागि र देशको लागि केही गरेर देखाउनु है,’ उनले भने, ‘त्यही प्रेरणाले म प्रेरित भए । मेरो दिदीले राम्ररी उपचार पाएको भए गुमाउनु पर्ने थिएन । त्यही कुराबाट अभिप्रेरित भएर मैले चिकित्साशास्त्र अध्ययन गर्ने अठोट गरे ।’

त्यसै प्रेरणाले उनले चिकित्साशास्त्र अध्ययन गर्न भारत गएको बताए । डा. रुइतले अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्सबाट एमबीबीएस पढेका हुन् । स्वास्थ्य क्षेत्रमा निकै पछाडि रहेको नेपाल फर्केर डा. रुइतले ६/६ महिनाको अन्तरालमा गाउँगाउँमा आँखाको उपचार गर्न सुरुआत गरेका थिए । उनले उमेर बढ्दै जाँदा आँखाको हेर्न सक्ने क्षमतामा ह्रास हुँदै जाने बताए । ५० वर्ष कटेपछि आँखामा बादल जस्तो हुने र यसले आँखा देख्न असहज हुने उनले बताए ।

तस्बिर सौजन्य : लाल तामाङ पाख्रिन, न्युयोर्क

कार्यक्रममा उनले नेपालमा आँखा उपचारको क्षेत्रमा गरेका प्रयासबारे जानकारी दिएका थिए । न्युयोर्कमा अध्ययनरत युवाहरुको पहलमा आयोजित कार्यक्रममा डा. रुइतले जीवनको आरोह अवरोहसँगै स्वास्थ्य क्षेत्रको अध्ययनसँगै पाएको सफलताका अनुभव सुनाएका थिए ।

आफूले गरेको अध्ययनपछि विश्वका विभिन्न मुलुकहरुमा पुगेर कैयौ दृष्टिविहीनलाई आँखा ज्योति दिएर गरेको महान् कार्यले विश्वप्रसिद्ध पुरस्कारहरु पाइसकेका छन् । अनुभव बाँड्ने क्रममा एक दृष्टिविहीन गर्भवती महिला बच्चा जन्मेपछि बच्चा देख्न नसकेको पीडाले छटपटाइरहेका बेला ९ महिनाभित्रमा डा रुइतले ती महिलाको आँखाको उपचारपछि ज्योति ल्याइदिएर बच्चा हेर्न पाएको खुसीले सबैलाई भावुक बनाएको थियो ।

डा. रुइत र उनको समूहले अहिलेसम्म ती महिलाजस्ता कैयौ ग्रामीण भेगका दृष्टिविहीनहरुको आँखामा ज्योति ल्याएर पुण्यसमेत कमाएका छन् ।

कार्यक्रम स्वस्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु सिया तुलाधार र आस्का शेर्पाले सञ्चालन गरेका थिए । उनीहरुले कार्यक्रमको अन्तमा डा रुइतसँग प्रश्नोत्तर पनि गरेका थिए । कार्यक्रममा आयोजक युवाहरुले डा रुइतको हिमालयन केटारिक अभियानको सहयोगार्थ उपस्थित सहाभागीहरुबाट संकलन भएको ७ हजार १ सय १२ अमेरिकी डलर हस्तान्तरणसमेत गरेका थिए ।

कार्यक्रममा भ्वाइस फर युथका संस्थापक तथा मोटिभेसनल स्पिक प्रोग्राम डाइरेक्टर छिरिङ लामा योन्जनलगायत विद्यार्थी तथा व्यवसायीको उपस्थिति थियो ।

भ्वाइस फर युथ गैरनाफामूलक संस्था हो । यस संस्थाले युवाहरुलाई एकीकृत गरी उनीहरुको बृहत्तर हितका लागि काम गर्दै आएको छ ।

सम्बन्धित समाचार