१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

जनसम्पर्क समिति,अमेरिकाले मनायो १०७ औं वीपी जयन्ती

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताएको छ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले १०७ औं वीपी जयन्तीका अवसरमा अनलाइनको माध्यमबाट आयोजना गरेको कार्यक्रममा प्रमूख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महतले राजनीतिमा शत् प्रतिशत सहमति सधैं,सबै विषयमा सम्भव नहुने भन्दै बहुमतको निर्णयको सम्मान गरिने लोकतान्त्रिक विशेषतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।
नेता महतले वीपी कोइराला विश्वमंचमा सम्मान आर्जित गर्ने नेपालको ठूलो नेता भएको बताउदै जनता अधिकार सम्पन्न नभएसम्म देशको राष्ट्रियता बलियो हुदैन भन्ने मान्यता राख्ने वीपी सधैं जनताको अधिकारका लागि लडेको बताए । पूर्व परराष्ट्रमंत्री समेत भइसकेका नेता महतले वीपीको परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै भारत र चीन दुवैसंग वीपीले सम्मान आर्जन गरेर राष्ट्रियताका हितमा अडान राख्ने गरेको र परराष्ट्र नीति पनि सोही अनुसार नै अवलम्बन गरेको समेत बताएका थिए ।

वीपी कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भका बारे आफनो व्यक्त गर्ने क्रममा नेता महतले अहिलेको कम्युनिष्ट सरकार प्रपोगण्डा सिर्जना गर्न माहिर रहेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरेको टिप्पणी गरेका थिए । ‘ कम्युनिष्ट सरकार राज्यश्रोत दोहन गरेर व्यक्ति केन्द्रीत राजनीति गदै जनताको सामु सम्पूर्ण रुपमा नांगिएका छन ‘ नेता महतले भने-‘ पार्टीमा व्यक्ति होइन पार्टी बलियो बनाउनु पर्छ’ ।

नेपाली जनसम्पर्क समितिको विषयमा बोल्दै नेता महतले पार्टीले विदेशमा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुको क्षमता र श्रोत पार्टीले उपयोग गर्न नसकेको विचार व्यक्त गरेका थिए । ‘जनसम्पर्क समिति सम्बन्धित देशको कानुन अनुसार नै चल्ने हो,हामीले सहजीकरण गर्ने हो । जनसम्पर्क समिति कांग्रेस मार्फत नेपालसंग जोडिनुपर्छ र विदेशमा रहेका सबै साथीहरु जनसम्पर्क समितिमा आवद्ध हुन पाउने व्यवस्थामा हामी खुला हुनुपर्छ’ नेता महतले बताए ।

समितिका अध्यक्ष एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मंत्रीद्वय उमाकान्त चौधरी र वीरबहादुर बलायरसहित केन्द्रीय सदस्यहरु डाक्टर डिला संग्रौला,जनसम्पर्क समन्वय विभाग प्रमूख एवम केन्द्रीय सदस्य गोविन्द भट्टराई र केन्द्रीय सदस्य कल्याण गुरुङले पनि अतिथि वक्ताको रुपमा वीपीको बहुआयामिक व्यक्तित्वका बारे चर्चा गरेका थिए ।

नेता चौधरीले वीपी र तराई,मधेश एवं आदिवासी,जनजाति, नेता बलायरले वीपीवाद र आजको सन्दर्भ,डाक्टर संग्रौलाले वीपी र महिला,नेता भट्टराइले वीपी र जनसम्पर्क समिति र युवा नेता गुरुङले वीपी र युवा,विद्यार्थी एवं तरुणको विषयमा केन्द्रीत रहेर वीपीको योगदान,भूमिका र व्यक्तित्वका बारे मन्तव्य व्यक्त गर्नु भएको थियो। वक्ताहरुले पार्टीमा आन्तरिक अनुशासन र पद्धतिको पालनामा जोड दिनुपर्ने बताएका थिए।

अनुशासन समिति सदस्य समेत रहनु भएका पूर्वमंत्री नेता चौधरीले वीपीले आफनो नेतृत्वमा कांग्रेसलाई समावेशी बनाएर व्यवहारिक उदाहरण प्रस्तुत गरेकेा भन्दै पार्टीलाई नीतिका आधारमा अघि बढाउनु पर्ने धारण राखेका थिए ।
त्यस्तै कांग्रेसका निर्माण व्यवसायी समन्वय विभाग प्रमूख तथा पूर्व मंत्री बीरबहादुर बलायरले पार्टीमा आन्तरिक अनुशासनको पालना हुन नसकेकोले अराजकता बढेको भन्दै गुटको नाममा पार्टीलाई कमजोर बनाउने काम भएको धारणा व्यक्त गरेका थिए । केन्द्रीय सदस्य एवं सांसद डाक्टर डिला संग्रौलाले वीपीपछि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले नै महिला,दलित,पिछडिएको जनजातिलाई अधिकार दिलाउने विषयमा लडेको भन्दै अझ बढी अधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिएका थिए । जनसम्पर्क समन्वय विभाग प्रमूख तथा केन्द्रीय सदस्य गोविन्द भट्टर्राईले निर्वाचित प्रक्रियाबाट आएको नेतृत्वलाई काम गर्न नदिने प्रवृत्ति हाबी भएको बताए । ‘ निर्वाचित सभापति र नेतृत्वलाई काम गर्न नदिने,अधिवेशन गर्न नदिने हो भने किन निर्वाचन प्रक्रियामा गैरहनु पर्यो ? त्यसैले चुनाव जितेर आएको नेतृत्वलाई काम गर्न दिनुपर्छ ‘ । नेता भट्टराईले बताए । केन्द्रीय सदस्य कल्याण गुरुङले पद बार्गेनिङ्गका लागि पार्टीको आगामी नेतृत्वका लागि उम्मेद्वारी घोषणा गर्न छाडेर एजेन्डासहित अगाडी आउन नेतृत्वका आकांक्षीहरुलाई आग्रह गरेका थिए । आगामी पार्टी अधिवेशनमा युवा पुस्ताले नेतृत्वका लागि अघि बढ्नुपर्ने नेता गुरुङको भनाई थियो ।

आमन्त्रित केन्द्रीय सदस्य एवं समितिका अध्यक्ष आनन्द विष्टले वीपी कोइरालाले स्थापना गर्नु भएको नेपाली जनसम्पर्क समितिको समस्याको बारे पार्टी सभापति शेरबहादुर देउवा अत्यन्त गम्भीर रहेको र जनसम्पर्क समितिलाई पार्टीसग जोडन सबैभन्दा बढी माया गर्ने सभापति पनि हुनुभएकोले विधानको समस्या समाधान चाडै हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति,युरोप क्षेत्रका महामन्त्री गंगाधर गौतम,नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व संयोजक एवं वर्तमान सल्लाहकार खगेन्द्र जीसी,समितिका सल्लाहकार कृष्ण बिष्ट,समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठ,जनसम्पर्क समिति,अमेरिका संगठन विभाग प्रमूख वेदप्रसाद खरेल,एनआरएन अमेरिकाका अध्यक्ष सुनील साह,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल,नेविसंघका पूर्व महामन्त्री डाक्टर यादव पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिका उप सभापति सीपी पौडेलको स्वागत र महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको कार्यक्रममा सचिव भोजराज थोकरले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा च्याप्टर समितिका तर्फबाट लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाास्तोला र डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए ।