६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ट्रम्पविरुद्ध ह्वाइट हाउसकै कर्णेलले दिए बयान



काठमाडौं– ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनी समकक्षीसँग आग्रह गरेको स्वीकारेका छन् ।

उनले एक कदमअघि बढेर युक्रेनी समकक्षीसमक्ष ट्रम्पले गरेको राजनीतिक आग्रह अनुचित भएको टिप्पणीसमेत गरेका छन् ।

गत जुलाईमा ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेंस्कीसँग फोनवार्ता गरेका थिए । जसमा उनले डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न जेलेंस्कीलाई दबाव दिएको अभियोग डेमोक्रेटिक पार्टीसँगै अन्यले लगाउँदै आएका छन् । यसकै लागि युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकिएको दाबी पनि ट्रम्पका आलोचकहरूको छ ।

ट्रम्पले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् । ट्रम्पविरुद्ध संसदको तल्लो सदनले राष्ट्रपतिको अधिकार दुरुपयोग भए/नभएकोबारे अनुसन्धान तथा सुनुवाइ पनि गरिरहेको छ ।

यही क्रममा संसदको तल्लो सदनले ह्वाइट हाउसमा कार्यरत एनएससीका युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल भिन्डमनसँग पनि बयान लिएको छ ।

युक्रेनी समकक्षीसँगको ट्रम्पको टेलिफोन वार्ता सुनेका भनिएका भिन्डमनले प्रतिद्वन्द्वीबारे कुराकानी भएको स्वीकारेका छन् । यद्यपि, उनले भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाब भने नदिएको दाबी गरेका छन् ।

युक्रेनमा जन्मिएका भिन्डमन ४० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । इराक युद्धमा योगदान पुर्‌याएको भन्दै सम्मानित उनले यस्तो बयान दिएपछि उनीविरुद्ध ह्वाइट हाउस खनिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : १६ बजे