१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

देउवाले ओलीलाई भने-कांग्रेसलाइ राष्ट्रियताको पाठ पढाउनुपर्दैन


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । मंगलबारको व्यवस्थापिकाको वैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा अोलिको डेढ घन्टाको प्रश्नहरूको दस मिनेटमै उत्तर दिएका छन् ।

उक्त सम्बोधनमा सभापति देउवाले कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा मन्त्र रहेकोले अोलीले राष्ट्रियताको पाठ सिकाउनु नपर्ने बताएका हुन् । देउवाले भने,  ‘एमालेले हामीलाई राष्ट्रियताको पाठ सिकाउनु पर्दैन’, उनले भने, ‘राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मान्यता हो । राष्ट्रियता र प्रजातन्त्रका विषयमा हामी सम्झौता गर्न सक्दैनौँ । राष्ट्रियता र प्रजातन्त्र हाम्रो आदर्श हो ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार नै निर्वाचन आयोग बनाएकाले भरतपुर घटनाका विषयमा आयोगको निर्णय काँग्रेसले मानेको बताएका छन् ।

देउवाले निर्वाचनको निर्णयका विरुद्ध अदालतमा जान पाइने बताए । देउवाले मतपत्र च्यातिएका विषयमा आयोगको निर्णयलाई लिएर अदालतमा रिट परेकाले सो विषयमा आफू धेरै बोल्न नचाहेको बताए ।

एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादी केन्द्रलाई विभिन्न विषयमा प्रहार गरेपछि देउवाले त्यसको जवाफ दिएका हुन् ।

महाभियोग प्रस्ताव फिर्ता लिइसकेको कुरालाई लिएर एमालेले अनावश्यक संसद अबरोध गरेको देउवाले बताए । महाभियोग प्रस्तावका विषयमा देउवाले भने, ‘महाभियोग प्रस्ताव पहिला नै फिर्ता भएको थियो । फिर्ता लिइसकेका कुरामा एमालेले अडान लिएको हो ।’

प्रधानन्यायाधीशको पेन्सनपट्टको विषय प्रशासनिक विषय रहेको भन्दै सो विषयलाई संसदमा उठाउन आवश्यक नरहेको उनले बताए ।

उनले विभुषण वितरणको विषयमा एमालेले अनावश्यक विवाद उठाएको बताए । देउवाले भने, ‘विभुषण वितरणको संयोजक विजय गच्छदारजी हुनुहुन्थ्यो । उहाँले नै सिफारिस गर्नुभएको हो ।’

सभापति देउवाले सप्तरीमा एमालेका नेता तथा कार्यकर्ताको सुरक्षा गर्दा सुरक्षाकर्मीले गोली चलाएको बताए । उनले भने, ‘केपी ओलीजीले गोली चलाएको भनेर सुरक्षा निकायलाई आरोप लगाउनु पाइदैन । उहाँहरूको सुरक्षा गर्ने सुरक्षाकर्मीहरूलाई दोषी भन्न पाइँदैन ।’

सभापति देउवाले स्थानीय तहको दोस्रो चरणको चुनाव गर्न बाँकी रहेको भन्दै संविधानअनुसार सबै चुनाव तोकिएको समयमा हुने बताए । उनले भने, ‘तीन वटा निर्वाचन अति आवशयक छ । हामीले संविधान बनयौँ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान कार्यान्वयनमा सफल भएको भन्दै प्रसंशा गरेको सभापति देउवाले भने, ‘प्रचण्डजीलाई सफल कार्यकालको बधाइ दिन चाहन्छु ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ३ : ५३ बजे