२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

तातोपानीमा बेलीब्रिजको काम शुरुतातोपानीमा बेलीब्रिजको काम शुरु


३२ श्रावण २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/चौतारा

साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ ।

सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना स्थलमा पुगिसकेकाले अबको २०÷२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए ।

साबिकको स्थानभन्दा केही तल राखिने बेलिब्रिज ५० मिटर लामो हुनेछ । त्यसका लागि नेपाली सेना, सशस्त्र सीमा प्रहरी र सीमास्थित नेपाल प्रहरीलाई परिचालन गरिएको र भोटेकोशी गाउँपालिकाले समेत सहयोग पु¥याएको जानकारी उनले दिए ।

भोटेकोशी नदीको फुल्पिङकट्टी र तातोपानी जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि पाँच किमीमाथि रहेका करिव पच्चिस सय तातोपानीवासीलाई आवागमनमा कठिनाइ भएको थियो । पुल बगाएपछि त्यस क्षेत्रका बासिन्दालाई पाँच घण्टासम्म पैदल हिँड्नु पर्ने भएपछि गएको शनिबार तुइन जडान गरिएको थियो । वैकल्पिक रूपमा जडित तुइनबाट वारपार गर्न वृद्धवृद्धा, बालबालिका, बिरामी र सुत्केरी महिलालाई भने सहज नभएको स्थानीयवासी बताउँछन् ।

तुइनका अतिरिक्त हाल फलामे सत्तरी सहितको फड्के (साँघु) राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

फड्केमा फलामे पाता ठोक्ने र दायाँबायाँ रेलिङ राख्ने काम अन्तिम चरणमा पुगेको र सो काम पूरा भएपछि आवागमनमा सहज हुने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक बिमल डाँगीले बताए । पहिराले बाह्रबिसे–तातोपानी सडकको २६ किमी खण्डको विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

त्यसैगरी, तातोपानी, फुल्पिङकट्टी र मार्मीङ सहितका आधा दर्जन गाउँ अति जोखिममा रहेकाले स्थानीयवासी अन्यत्र गएर बस्न थालेका भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलल बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  २ : ३७ बजे