दिलिप तामाङ हास्य सिरियल ‘ल्याप्चे’ मा ‘जुँगे’ को भूमिकामा देखिन्छन् । ‘हुरहुर’ थेगोमा सिरियलमा प्रस्तुत हुने उनले लगाउने टोपीका कारण पनि चर्चामा छन् । गोरखा राज्यमा राजाका भारदारहरुले लगाउने टोपी, स्वेटर, गलबन्दी र कछाडमा देखिने उनको थेगो हुरहुरले पनि उनलाई चर्चामा ल्याएको हो ।
त्यसो त दिलिप ल्याप्चेका लेखक पनि हुन् । उनको लेखनमा रहेको ल्याप्चे नेपाल टेलिभिजन प्लसबाट दुई वर्षअघि प्रसारण सुरु भएको हो । अहिले सिरियल १०५ औं भाग पुरा गरिसकेको छ । सिरियलका निर्माता मित्रलाल तामाङ हुन् भने निर्देशक लक्ष्मण लम्साल तथा टीकाराम आले ।
उदयपुर बर्रेका दिलिपले छिन्द्रिङखोला माविबाट २०६५ मा एसएलसी सकाएर काठमाडौं प्रवेशसँगै अभिनय यात्रा सुरु गरे । एमए अध्ययनरत उनले नेपाल टेलिभिजनको प्रहरी अनुरोधबाट अभिनय यात्रा सुरु गरेका थिए । समाजमा हुनेगरेका समसमायिक विषयलाई आफुले लेखनमार्फत प्रस्तुत गर्ने मौका ल्याप्चेबाट मिलेको भएपनि आफ्नो मुख्य क्षेत्र अभिनयलाई मान्छन् दिलिप । उनै कलाकार दिलिप तामाङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
ल्याप्चे लेखन, अभियन व्यस्त हुनुहुन्छ ?
अहिले यही सिरियलमा व्यस्त छु । हरेक हप्ताको लागि कथा लेखन, यसैमा अभिनय गर्छु । यसका अलावा स्टेज कार्यक्रमहरुमा पनि जाने अवसर पनि पाइरहेको छु ।
ल्याप्चे लेखन र जुँगे बनेर अभिनय गर्दा कुन अप्ठेरो लाग्ने रहेछ ?
जुँगे पात्र स्थापित गर्न निकै गाह्रो भयो । अहिले दर्शकले माया गर्नुभएको छ । त्यसैले जुँगे बन्न त्यति गाह्रो छैन । लेखन मुश्किलकै विषय रहेछ । दर्शकले मनपराइदिनुभएकै कारण लेख्ने बुद्धि पाइरहेको छु ।
जुँगे पात्र पृथक देखिन्छ, कसरी तयार भयो ?
यो गाउँकै एकजना पात्रबाट साभार गरिएको हो । हाम्रो पूर्खाले लगाउने गरेको टोपी लगाएर अलि फरक तरिकाले प्रस्तुत गरेको छु । यही गेटअप धेरैले मनपराइदिनुभएकोले उत्साह मिलेको छ ।
कसरी सुरु भयो तपाईको यात्रा कलाकारितामा ?
उदयपुरबाट पढ्न काठमाडौं आएसँगै मुलधारको अभिनय यात्रामा प्रवेश गर्ने मौका मिल्यो । स्कुलमा पढ्दा पनि मिमिक्री गर्थे । बुवाबाटै म प्रभावित भएर यस क्षेत्रमा प्रवेश गरेको हुँ । बुवाले पनि अलिअलि मिमिक्री गर्नुहुन्थ्यो । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम प्रहरी अनुरोधमा पहिलो अभिनय गर्ने मौका मिल्यो । त्यसपछि नेपाल टेलिभिजनबाटै कृषि कार्यक्रममा अभिनय गर्ने मौका पाएँ । जुँगे भन्ने फिल्ममा अभिनय गरें । झल्को नामको मगर फिल्म र सम्बन्ध भन्ने राई फिल्ममा मुख्य भुमिकामा अभिनय गरें । थ्री मंकी, सुनपानी फिल्ममा पनि अभिनय गर्ने मौका पाएँ ।
यसरी अभिनय यात्रा गर्दा गर्दै लेखनमा पनि हात हालें । बुवा आमा कतिको खुसी हुनुहुन्छ ?
एसएलसीमा हाम्रो स्कुलबाट म टपर भएको थिएँ । त्यसैले होला बुवाले मलाई साइन्स पढ्न सुझाउनु भएको थियो । मलाई भने कलाकारितामा आउनु थियो । त्यसैले मैले बुवाको आग्रहलाई स्विकार्न सकिनँ । सुरुमा त उहाँहरु त्यति पोजिटिभ हुनुहुन्नथ्यो । अहिले भने टेलिभिजनमा देखिएपछि उहाँहरु खुसी हुनुभएको छ ।
यहाँसम्म आइपुग्न कतिको हन्डर खानुप¥यो ?
परिवारको साथ, दाजुहरुको साथले त्यति धेरै दुःख त खेप्नुपरेन । तर, अभाव भने भयो । काम गर्दै, पढ्दै, अभिनय सुरु गरें । निरन्तरता नै ठुलो कुरा रहेछ । त्यसैले अहिलेसम्म निरन्तरता दिदैं छु ।
अभिनयमा अघि बढ्न केले प्रेरणा दिनेरहेछ ?
सबैभन्दा बढी त दर्शककै माया हो । टिमवर्क र साथीहरुको सहयोग पनि हो । अर्को कुरा चाँहि यो लाइनमा तामाङहरुको अवस्था देखेर पनि अभिनयमा लागिरहने बल मिल्यो । ट्रली कुदाउने, स्पट ब्वाई, चिया बोक्नेदेखि सबै हाम्रै दाजुभाई छन् फिल्म लाइनमा । अभिनयको लिड रोलमा तामाङ पनि कम छैनन् र देखिनुपर्छ भन्ने लागेर निरन्तरता दिइरहेको छु ।