एभरेस्ट टाइम्स/काठमाडौं
तामाङ डाजाङले शनिबार आफ्नो नियमित कार्यक्रम ‘ग्योकाई गेताङ’को अवसर पारी ‘तामाङ प्रकाशनको अवस्था र चूनौती’ विषयमाथि छलफल आयोजना गरेको थियो ।
काठमाडौंको आरआर क्याम्पसमा आयोजित उक्त कार्यक्रममा तामाङ भाषाविद् अमृत योञ्जनले तामाङ प्रकाशनको अवस्था प्रस्तुत गर्दै अहिलेको अवस्था अत्यत्नै कमजोर रहेकोले यसमा वयस्क पुस्तादेखि युवा पुस्तासम्मले ध्यान दिनुपर्ने बताए ।
तामाङ प्रकाशन ६० वर्ष पुगिसकेको अवस्थामा तामाङहरुले आफ्नो दुःखसमेत लेखेर प्रकाशन गर्न नसकेको उनले सुनाए ।
तामाङका गायन क्षेत्रमा राम्रो हुदैं गएको आर्थिक अवस्था पनि राम्रो हुदैं गएपनि साहित्यमा भने युवा पुस्ताले वास्ता नगरेको उनको आरोप थियो । यसको मुख्य कारण साहित्यमा निखार नआएको योञ्जनको धारणा थियो ।
यसका लागि अबका पुस्ताले नयाँ मिडियामार्फत तामाङ साहित्यमा योगदान दिन सक्ने र योजनाबद्ध कामहरु गर्न सकिने बताए ।
यता साहित्यकार÷पत्रकार फुलमान वलले राजनीतिक रुपमा तामाङका मुद्दाहरु कमजोर भएकाले साहित्य पनि पछि परेको धाराणा राखे । ‘तामाङको मात्र होइन नेपालीको अवस्था पनि कमजोर नै छ, यो सबै विश्वव्यापी बजारका कारण यस्तो भएको हो, राजनीति र अर्थतन्त्र यसका मुख्य कारण हुन् । यसका लागि हामीले अब इलेक्ट्रोनिक मिडियाबाट हुन्छ अथवा जसरी हुन्छ एक भएर लागेमा तामाङ साहित्य सशक्त भएर जानेछ,’ वलले भने ।
अहिलेको राजनीतिक अवस्थाले पनि तामाङको पहिचान गुम्ने उनको धारणा थियो । त्यसैले पनि साहित्यमा लाग्नेहरु बागी हुनुपर्ने र समानान्तर सरकार चलाउन सक्ने हुनुपर्ने धारणा राखे ।
तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ मिडियाको अवस्था नै अत्यन्त कमजोर रहेको बताए । तामाङ प्रसारणले केही गति लिएको अवस्था केही समयअघि भएपनि अहिले पुनः कमजोर भएको र यस्तै अवस्था तामाङ प्रकाशनले भोग्दै आएको उनको धारणा थियो । यसका लागि तामाङ लेखकहरु व्यवसायिक रुपमा लाग्नुपर्ने उनको धारणा थियो ।
धनम तामाङको दुई किताब सार्वजनिक
कार्यक्रममा धनम तामाङको दुई किताब ठुङह्राप(लोककथा) र सप्सी काव्य विमोचन गरियो । भाषाविद् अमृत योञ्जन र तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले दुई किताब विमोचन गरेका थिए । ठुङ्ह्रापमा उत्पत्तिका कथा रहेको र सप्सी काव्यमा पश्चिमी तामाङका कथाव्यथा उनिएको छ । धनमले यी दुईसहित पाँच कृति बजारमा ल्याइसकेका छन् ।
बुद्धिमानको जन्मजयन्ती मनाइयो
कार्यक्रममा बुद्धिमान मोक्तान ११८ जन्मजयन्ती मनाइयो । कार्यक्रमका विशेष अतिथि भाषाविद् अमृत योञ्जनले मोक्तानको तस्विरमा खादा अर्पण गरी दियो बालेका थिए ।
मोक्तानको जन्म विस १९५६ कात्तिक २७ गते दार्जिलिङमा भएको थियो भने २०२६ वैशाख ९ गते निधन भएको थियो । उनले लेखेको जिक्तेन तामछ्योई तामाङ वंशवली ह्रामा(२०१३) तामाङ समाजको पहिलो पुस्तक मानिन्छ ।
डाजाङकी अध्यक्ष सञ्चु ब्लोनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामाङ घेदुङकी उपाध्यक्ष सीता गोले, तामाङ डाजाङका सम्पादक इन्द्र तामाङ, डाजाङका सल्लाहकार अर्जुन तामाङ, तम्बा संघका अध्यक्ष धावा वाङ्गेल मोक्तान, तम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान, लेखक रविन्द्र तामाङ, तामाङ स्रष्ट समाजका अध्यक्ष ङहेमा गोले, तामाङ सेम्लेङ न्हानका सचिव कविराज कल्तान, नम्सादिमका अध्यक्ष हिरामान बल लगायतको उपस्थिति थियो ।
कार्यक्रमम दर्जन साहित्यकारले अाफ्नो रचना वाचन गरेका थिए ।