काठमाडौं । सगरमाथा आरोहण गरेकी पहिलो शेर्पा महिला पत्रकार डोमा शेर्पाले आफूलाई आरोहणको समयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
मंगलबार काठमाडौंको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी उनले आफ्नो आरोहणको समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रशंसा पत्रसमेत प्रदान गरिन् ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा २ सालाबेशीकी उनले गत जेठ २२ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
सगरमाथा आरोहणका क्रममा स्वास्थ्य समस्या आइपरेपछि ३ दिनसम्म क्याम्प ४ मा बस्नुपरेको र पुन आधार शिविरमै फर्केर पनि हार नमानी पुनः प्रयासपछि आरोहण सफल भएको उनले जानकारी दिइन् ।
उक्त आरोहणकै क्रममा केही समाचारहरुले अर्कै आरोहीको मृत्युको समाचारमा उनको नाम जोड्दा सहयोगीहरुलाई दुःख लागेको कार्यक्रममा जानकारी दिइएको थियो ।
शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, आदिवासी जनजाति युवा संघका अध्यक्ष घमानसिंह गुरुङ लगायतले पत्रकारले संवेदनशील सूचनामा संवेदनशील भएर समाचार लेख्न आग्रह गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सुझाव दिए ।
कार्यक्रममा पत्रकार महासंघकाे पूर्व अध्यक्ष डा. सुरेस अाचार्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा लामा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, कांग्रेस सोलुका नेता प्रकाश कार्की, शेर्पा महिला लेखिका लाक्पाफुटी शेर्पा, शेर्पा सञ्चार समूहकी अध्यक्ष फुर्किमा शेर्पालगायतको उपस्थिति थियो ।
आरोहण पत्रकारतिामा महिला सहभागी बढाउने
सगरमाथा आरोहणपछि दिनमा आफूले गर्ने कामहरुबारेसमेत डोमाले खुलाएकी छिन् । पत्रकारितामा सक्रिया रहेकी उनले हिमाली भेगमा बसोवास गर्ने आवाजविहीनहरुको आवाज सञ्चारमाध्यमसम्म पुर्याउने, महिलाको नेतृत्व विकासका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् ।
त्यसैगरी उनले आरोहण पर्वतीय पर्यटन पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्न सहयोग गर्ने र यस सम्बन्धी पत्रकारिताका कठिनाई उजागर गरी समाधानका लागि पहल गर्नेसमेत उल्लेख गरेकी छिन् । डोमा पयोनियर एडभन्चरबाट सगरमाथा आरोहणमा पुगेकी थिइन् ।