५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

को हुन् विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको अभियोग लागेका आलम ?



काठमाडौं– बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का कांग्रेस सांसद मोहम्मद आफताब आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

शुक्रबार जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश गरेको थियो । अदालतले आलमलाई सुरक्षित कारागारमा राख्न र घटनाका साक्षी तथा पीडितको सुरक्षामा विशेष ध्यान दिन पनि आदेश दिएको थियो। उक्त आदेश अनुसारनै राैतहट कारागारमै बस्न चाहेका आलमलाई रातारात राजधानीको नख्खु कारागार ल्याइएको हो।

२०६४ चैत २७ मा (पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन) भएको बम विस्फोट घटनाका घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा आलम पक्राउ परेका थिए ।

उनीविरुद्धको कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको तीनवटा कसुरमा मुद्दा चलाइएको हो । अदालतमा थुनछेक बहस चलिरहेको बेला घटनाका साक्षीहरुलाई अपहरण र त्रासमा पारेर बयान फेर्न लगाइएको खुलासा समेत भएको थियो ।

राजपुर घटनामा घाइते भारतीय नागरिक गौरशंकर रामलाई आलम पक्षकाले बन्धक बनाई बयान फेर्न लगाईएको मंगलबार खुलासा भएको थियो। घटनामा छोरा गुमाएका सरुअठाका श्रीनारायण सिंह अदालतले आलमलाई छाडिदिए आफूलाई मार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । विस्फोटमा घाइते कान्छो छोरा त्रिलोकप्रतापलाई इँटाभट्टामा हालेर हत्या गरिएको उनको आरोप छ।

न्यायाधीश काठमाडौंमा र न्यायाधिवक्ताको सरुवा
आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएकै राति जिल्ला न्यायाधीश ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवाल काठमाडौं आएका थिए ।

आलमको मुद्दामा लामो समय खटिनुपरेको कारण देखाउँदै आराम गर्न काठमाडौं आएको बताइए पनि दुवै जना सुरक्षा चुनौतीका कारण रौतहट छाडेको स्रोतको भनाइ छ। सोमबार न्यायाधिवक्ता कटवालको मकवानपुर सरुवा भएको स्रोतले जनाएको छ ।

को हुन त आलम ?

गौरदेखि चन्द्रनिगाहपुर जाने सडकको बमनहरबाट करिब ७ किलोमिटर पश्चिममा राजपुर फरदहवा गाउँ पर्छ । बाक्लो बस्ती रहेको त्यही गाउँका नेता हुन् मोहम्मद आफताब आलम।

२०३९ सालदेखि राजनीतिमा प्रवेश गरेका आलम २०५३ सालमा तत्कालीन सांसद शेख इद्रिसको निधनपछिको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अन्य समुदायको थोरै बसोबास रहेको राजपुरमा मुस्लिम समुदायका करिब साढे ६ हजार परिवार छन् । राजपुरमा जोकोहीले सजिलै जान पाउँदैनन्। स्थानीयले गाउँमा नयाँ मानिस आए केरकार गर्छन्।

यस क्षेत्रमा २०१५ सालदेखि नै शेख परिवार राजनीति गर्दै आएको हो । ०५३ मा इद्रिसको निधन पछि उनको राजनीतिक बिँडो भतिजा आलमले थामे। हक्की र जिद्दी स्वभावका आलमका बुबा सिद्धिकी भने राजनीतिमा त्यति चासो राख्दैनथे।

२०५१ सालमा इद्रिस वनमन्त्री हुँदा मन्त्रालयमा आलमकै दबदबा थियो । ०५३ को उपनिर्वाचनबाट आलम पहिलोपटक सांसद बनेका थिए । आलम २०७० को संविधानसभामा निर्वाचनमा भने आफ्नै भान्जा मुस्ताक राजासित हारेका थिए। आलमले बेवास्ता गरेपछि मुस्ताक तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनावमा उत्रिएका थिए। ०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनले रौतहट २ बाट जितेका थिए ।

आलमले बुथ कब्जा गरेर चुनाव जित्दै आएको आरोप लाग्ने गरेको छ। उनले बम पड्काएर, मतदातालाई त्रासमा परेर र हतियार देखाएर बुथ कब्जा गरेको भन्दै विपक्षी उम्मेदवारहरू हरेक पटक निर्वाचन आयोगमा उजुरी गर्न जान्थे।

आलम पक्षकाले चुनाव हारे पिट्ने धम्की दिने गरेकाले स्थानीयले उनको विरोध गर्ने आँट गर्न नसक्ने उनका प्रतिद्वन्द्वीहरु बताउँछन् । भारतको सीतामढी जिल्लास्थित मुहवरको धनाढ्य बेगम परिवार आलमको ससुराली हो। ससुराली भारतको बिहार भएकाले चुनावमा उतैबाट धेरै सहयोग आउने गरेको उनका निकटस्थहरू बताउँछन्।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : १७ बजे