काठमाडाैं– समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको हो।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री र सचिव मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री छन्।
संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प्रस्ताव लगेका थिए।