उपत्यकामा पाँच महिनायता करिब १० हजार सवारी दुर्घटना
मृत्यु भएका ७६ जना मध्ये ३२ पैदल यात्रु
काठमाडाैं– उपत्यकामा सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ७६ जनाले ज्यान गुमाएका छन् ।
उपत्यकामा पाँच महिनायता नौ हजार ६९८ सवारी दुर्घटना भएका छन् । ती मध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर छन् । कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन् ।
दुर्घटनामा ६० पुरुष र १६ महिलाको ज्यान गएको हो । मृतक मध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार अधिकांश दुर्घटना तीव्रगति र चालकको लापरवाहीका कारण हुने गरेको छ ।
बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको र पैदलयात्रुले जथाभावी बाटो काट्दा पनि सवारी दुर्घटना हुने गरेको छ प्रहरीको भनाइ छ ।
उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको यातायात व्यवसायीको भनाइ छ ।
उपत्यकामा भएका खाल्डाखुल्डी पुर्दे ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा समिति बनाएर काम गरिएको छ । उक्त समितिले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने, करिडोरको विस्तार गर्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम गर्दछ । बाटो विस्तार र सडकमा भएका खाल्डाखुल्डी पुरेसँगै सवारी दुर्घटनामा कमी हुने लक्ष्यको दाबी छ ।
उपत्यकामा आव २०७४÷०७५ मा १९४ र आव २०७५/०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।