२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

तीन दिन बदली, वर्षा र हिमपातको सम्भावना



काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।

देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

मौसमविद् मानन्धरका अनुसार, अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको नयाँ प्रणालीको प्रभाव अहिले देशको पश्चिम भागमा परिरहेको छ । यसकै प्रभावस्वरूप हिमाली भेगमा हिमपात र पश्चिमकै पहाडी र तराईमा हल्का वर्षा भइहेको उनले जानकारी दिइन् ।

यो प्रणालीको प्रभाव अहिले देशको पूर्वी र मध्य भागमा भने सामान्य रूपमा परेको छ । त्यसैले यी क्षेत्रमा मंगलबार पानी पर्ने सम्भावना छैन ।

पश्चिम न्यून चापीय मौसमी प्रणाली भोलिदेखि भने देशको पश्चिमसँगै मध्य र पूर्वी भागसम्म फैलने छ । यसको फैलावटले भोलि हल्कादेखि सामान्य वर्षा र हिमाली क्षेत्रमा भने हिमपात हुने खतरा रहेको जनाइएको छ ।

पर्सि दिनभर यो श्रृंखला जारी रहे पनि बिहीबार साँझबाट भने मौसम सुधारिने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

शुक्रबारपछि तत्काल नयाँ मौसमी प्रणाली भित्रिने नदेखिएकाले त्यसपछिका दिन घमाइलो हुने मौसमविद्को भनाइ छ ।

यसपटक हिउँदमा पानी पार्ने मौसमी प्रणाली विगतभन्दा केही बढी देखिएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, विगत वर्षको तुलनामा यो हिउँदमा मौसमी प्रणाली छिटो छिटो अदल–बदल भइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ०४ बजे