२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

विषाक्त खानाले मरे गैँडा



चितवन– चितवन राष्ट्रिय निकुञ्जमा मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो ।

श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले बताए । ‘ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उनले बताए । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विषाक्त तोरीका कारण मरेको पनि हुन सक्ने अनुमान गरिएको जानकारी दिए। यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेको उनले बताए । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिनामा १४ गैँडा मरेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ । वन तथा वातावरण् मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नाका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ । अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्याङ्क छ । हरेक पाँचपाँच वर्षमा गैँडा गणना गरिन्छ । पछिल्लो गणनानुसार सो निकुञ्जमा ६०५ गैँडा थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ११ बजे