७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेकपा सांसदलाई मासिक १२ हजार लेबी, नेता–कार्यकर्तालाई निर्वाह खर्च



काठमाडौँ — नेकपाले संघीय सांसदका लागि मासिक लेबी टुंगो लगाएको छ । अब संघीय सांसदले मासिक १२ हजार लेबी बुझाउनुपर्ने छ । यसअघि तत्कालीन एमाले र माओवादीका सांसदले फरकफरक लेबी बुझाउँदै आएका थिए ।

माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय जानकारी र कार्यान्वयनका लागि भन्दै नेकपाले बुधबार जारी गरेको अन्तरपार्टी निर्देशन–४ मा लेबी तय भएको उल्लेख छ । ‘संघीय संसदका माननीय सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको छ,’ निर्देशनमा भनिएको छ ।

नेकपामा लेबी एकरुपताको विषय पार्टी एकतादेखि नै उठेको थियो । एकताको २० महिनापछि बल्ल सांसदको लेबीमा एकरुपता ल्याइएको छ । त्यसैगरी नेकपाले संसदीय दलको कार्यालय अविलम्ब एकीकृत गर्ने निर्णय पनि लिएको छ ।

यसबाहेक नेकपाले पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरुका लागि मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध गर्ने निर्णय गरेको छ ।

नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठकमा नेताहरुले पूर्णकालीन नेता–कार्यकर्तालाई मासिक खर्च उपलब्ध गराउन माग गरेका थिए । यसैका आधारमा मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध गरिएको छ । तर, खर्च कति दिने भन्ने नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन–४ मा उल्लेख छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  २ : ३० बजे