११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अदालतमा आत्मसमर्पण पछि सिद्धबाबा कारागार चलान



इटहरी– जबरजस्ती करणी मुद्दा लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी जिल्ला अदातल सुनसरीमा उपस्थित भएका छन्। मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए।

बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक रहेका ४५ वर्षीय गिरीलाई उच्च अदालतको आदेश अनुसार झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको छ ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो। तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए।

सोलुको जुबुमा जन्मेका गिरीले आफूलाई महायोगी सिद्धबाबा, अनन्त श्री, जगद्गुरु, आयुर्वेदका ज्ञाता र विद्यावारिधी गरेको बताउँदै आएका छन् । उनले सुनसरी मोरङ सिँचाई आयोजना स्वामित्वमा रहेका बराहक्षेत्रको चतराको १३ विघा जग्गा कब्जा गरेर ८ करोड लागतको १२८ कोठे भवन निर्माण गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : २३ बजे