१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो



वासिङ्टन डिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका हुन् ।

संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । उनले विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गरेका थिए ।

राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाउँदै आएका छन् । उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए ।

डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेको छ । बाहिरिने सम्बन्धी पत्र अमेरिकी अधिकारीहरुले सोमबार नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ ।

अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस बारेमा जानकारी दिएका छन् ।
–एजेन्सी

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  २ : ४७ बजे