फोनिजद्वारा दुई अक्षयकोष स्थापना

२०७७ श्रावण २८, बुधबार ११:२६

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २१औं स्थापना दिवसको अवसरमा दुई अक्षयकोष घोषणा गरेको छ ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार २०/२० लाख रुपैयाँको ‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) अक्षयकोष’ र ‘आदिबासी जनजाति पत्रकार सहयोग अक्षयकोष’ घोषणा गरेका हुन् ।

दुवै कोषमा हाल फोनिजले आफ्नो आन्तरिक स्रोतबाट १०/१० लाख रुपैयाँ राखेको छ भने थप रकमको लागि शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।

कोरोनाको महामारीका कारण फोनिजले २१औं स्थापना दिवस भर्चुअल माध्यमबाट मनायो । उक्त अवसरमा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले कोष वृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताएका थिए ।

साामजिक अभियन्ता र राजनीतिकर्मीबीच बुझाईमा दूरी रहेको बताउँदै उपाध्यक्ष घर्तीले आदिबासी हक अधिकारको सम्बोधन र त्यसको संस्थागत विकासका लागि पनि राजनीतिकर्मी र सामाजिक अभियन्ताबीच फ्यूजन अपरिहार्य रहेको बताए ।

फोनिजका सल्लाहकार खिम घलेले सरकार आदिबासी अधिकारप्रति उदासिन रहेको बताउँदै प्राप्त भएको अधिकार समेत कटौती गर्नमा लागेको टिप्पणी गरे । आदिबासी जनजातिको अधिकारको उठान गर्ने र सम्बोधनमा दवाव दिने काममा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको उनले बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले अहिलेको विशम परिस्थितिमा पत्रकारहरु जोखिम मोलेर फ्रन्ट लाइनमा रहेर भूमिका निर्वाह गरेपनि राज्यले राहत प्याकेज घोषणा नगर्नु विडम्बनापूर्ण रहेको बताए । उनले उद्यमी व्यवसायीलाई मात्र होइन, श्रमजीवी पत्रकारलाई समेत सहुलियत व्याजदरमा बैंकले ऋण दिने व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजुरधन राईले स्वागत मन्तव्य राखेका थिए भने मनोज घर्तीमगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

फोनिजको देशभर ८ संस्थागत सदस्य संगठन, ५६ जिल्लामा शाखा, सात प्रदेश कमिटी र ६ मुलुकमा विदेशमा शाखा रहेको छ । फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

सम्बन्धित समाचार