सुन तस्करहरुसँग सम्बन्धले नेताहरु विवादित भइरहेको बेला माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले नेताहरुको सम्पति छानविन गर्नु पर्ने माग गरेको छ ।
बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको छ ।
प्रज्ञा भवन कमलादीमा बैठकको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरूद्ध कठोर रहेको बताएका थिए । अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्ने समय पाएका केन्द्रीय सदस्यहरुले माओवादीकै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।
बुधबार अपरान्हसम्म बैठकमा सहभागी ३८५ केन्द्रीय सदस्यमध्ये २० जनाले बोलिसकेका छन् । जसमध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरुको सम्पत्ति खोज्नुपर्ने कुरा उठाएका हुन् ।









