१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

सत्ता गठबन्धन फेरियो, कांग्रेस बाहिरियो, एमाले र रास्वपा भित्रिए



प्रधानमन्त्री पुष्पकमल दाहालले उनैको भाषामा अर्को छलाङ मारेर उथलपुथल ल्याएका छन् । त्यसो त यो उथलपुथल जनताको जीवनस्तरमा होइन, आफ्नो सत्ता टिकाउने खेलमा हो । उनले सोमबार कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्काएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनाएका छन् ।

पुनगर्ठित मन्त्रिपरिषदमा उनले एमाले, माओवादी र रास्वपाका एक एक जना गरी ३ जना बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

गठबन्धन फेर्नुका तीन कारण
प्रधानमन्त्री दाहालले पार्टीको सचिवालयलाई दिएको जानकारी अनुसार सत्ता गठबन्धन फेर्नुका तीन कारण दिएका छन् । त्यसमा अर्थमन्त्रीलगायतका मन्त्रीहरुलाई फेर्न कांग्रेस नमानेको, कोशीको मुख्यमन्त्री र राष्ट्रिय सभाको चुनावमा धोका दिएको र हालै सम्पन्न कांग्रेसको महासमिति बैठकले अगामी दिनमा गठबन्धन नगर्ने प्रस्ताव पारित भएकाले पनि सत्ता गठबन्धन फेर्नु पर्ने बाध्यता आइलागेको जानकारी उनले दिएका थिए ।

कांग्रेसले भन्यो धोका
कांग्रेसले भने दाहालको नियत नै धोका दिने रहेको दावी गरेको छ । सोमबार बिहान बसेको बैठकमा सभापति देउवाले दाहालले खासमा प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने सहमति तोड्नका लागि धोका दिएको बताएका थिए । अरु केही कुरामा अहसमति नै नभएको उल्लेख गर्दै देउवाले अरु कुराहरु मिलाउँदा पनि उनले गठबन्धन तोडेको बताएका थिए । सुरुमा मन्त्रीहरु फेर्न नमानेको कांग्रेसले आइतबार भने मन्त्रीहरु फेर्न र राष्ट्रिय सभाको अध्यक्ष दिनसमेत तयार रहेको जानकारी गराएको थियो ।

पुरै कार्यकाल प्रधानमन्त्री हुन एमालेको प्रस्ताव
भइरहेको गठबन्धन भत्काउन लागि परेको एमालेले भने पुरै कार्यकाल प्रधानमन्त्री हुन दाहाललाई प्रस्ताव गरेको जानकारीहरु बाहिर आएको छ । एमाले र माओवादीले स्पष्ट रुपमा यस विषयमा नबोले पनि स्रोतहरुलाई उदृत गर्दै एमालेले पुरै अबधी प्रधानमन्त्री हुनको लागि दाहाललाई प्रस्ताव गरिएको बताइएको छ ।

प्रदेश सरकारहरु पनि संकटमा
केन्द्रमा सत्ता गठबन्धन भत्किएर नयाँ समिकरण बनेसँगै सबै प्रदेशको सरकारमा पनि संकट सुरु भएको छ । पुरानो गठबन्धनबाट बनेका प्रदेश सरकारहरुमा पनि नयाँ समिकरण बन्ने छ । नागरिक उन्मक्ति र जसपाले मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् भने सुदुरपश्चिमको मुख्यमन्त्रीमा नगारिक उन्मुक्तिले दावी गरेको छ । कोशीले एमालेले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । कोशीको मुख्यमन्त्रीले एमालेको पनि समर्थन पाएको थियो ।

गृहमा रास्वपाको दावी

रास्वपाका अध्यक्ष रबि लामीछानेले उपप्रधानसहित गृहमन्त्रालयको दावी गरेका छन् । यसअघि एमाले माओवादीको गठबन्धनमा पनि उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने एक महिनामा दोहोरो नागरिकताका कारण बर्खास्तगीमा परेका थिए ।

को हुन् अहिलेका मन्त्रीहरु

४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।

त्यतिबेला एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुदैं उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुदैं सभापति समेत चुनिएका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि उनी पर्वत–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भुमिका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियूका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बनें । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । ४९ वर्षीय धादिङवासी अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए ।
वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ५२ बजे