१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

राज्य व्यवस्था समितिमा प्रहरी प्रमुखसहित गृहमन्त्री रवि, सहकारी ठगीमा स्पष्टिकरण



प्रहरी प्रमुख बसन्त कुँवरसहित संसदको राज्य व्यवस्था समितिमा उपस्थित भएका उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दोहोर्याएका छन् । उनले

सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको दावी गरे । उनले अनुसन्धानमा आफूले प्रभाव नपार्ने पनि बताए । कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएको भन्दै अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भनेका थिए । जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले आफ्नो प्रभाव अनुसन्धानमा नपर्ने बताए ।

‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ,’ गृहमन्त्री लामिछानेले भने, ‘अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।’

प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताए । ‘प्रहरीमा जाहेरी छ, सूचनाका रूपमा, त्यो दर्ता नभएको कुरा पनि छ,’ उनले भने ।

बैठकमा उपस्थित भएका प्रहरी महानिरीक्षक बसन्त कुँवरले पिन रवि लामिछानेबारे सांकेतिक उजुरी आएको तर कुनै तथ्य प्रमाण नभएको जिकिर गरे । कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारे ।

सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताएका हुन् । ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए । ‘ठाडो उजुरीको रूपमा कानुनी दायरमा पार्ने अवस्था छैन । सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन,’ महानिरीक्षक कुँवरले भने ।

सोधेपछि रमेश खरेलले छाडे रास्वपा

पछिल्लो समय गृहमन्त्री रवि लामिछाने गृहमन्त्री हुँदा स्वार्थ बाझिएको तर्क राखिरहेका पूर्वडीआईजी रमेश खरेलले रास्वपा छाडेका छन् । सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो । खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाइदिएका हुन् ।

‘अब त्यहाँ किन बसिरहनु पर्‍यो र?’, राजीनामा दिएपछि उनले भनेका छन्, ‘मैले राजीनामा पत्र पठाइदिइसकेँ।’ खरेलले राजीनामा पत्रमा पछिल्लो समयको परिवर्तन पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्यता नमिलेको भन्दै स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगेको जनाएका छन् ।

खरेल रास्वपाको कुनै जिम्मेवार पदमा थिएनन् । तर पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पार्टीबाट उठेर उनी पराजित भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४५ बजे