राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको खारेजी माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाउको छ ।
४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए । उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।
प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका थिए ।
निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले सिंहदरबारतिर आउन नदिएपछि प्रदर्शनकारीहरुले सुन्धारा पुगेर सभा गरेका थिए ।