१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला




तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको एकल इजलासले सोमबार बम्जन विरुद्ध त्यस्तो फैसला गरेकाो हो ॥

यस अघि गत असार १० गते भण्डारीकै इजलासले बम्जनलाई कसुरदार ठहर गरेको थियो । सोमबारको इजलासले पूर्ण फैसला गरी सजाय सुनाएको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार पठाएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ६ : २९ बजे