१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024



अमेरिकी राष्ट्रपतीय निर्वाचनको पहिलो बहसमा चर्काचर्की, ट्रम्पमाथि ह्यारिस हावी

अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रमुख दावेदारबीचको पहिलो बहस एक अर्काबीच आरोप–प्रत्यारोप र मुद्दाहरु उठाएका छन् । डेमोक्र्याटिकका उम्मेदबार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकनका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार राती तातो बहस भएको हो ।

संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि केही समयपछि नै उनीहरूबीच राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा सुरु भएको थियो ।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसमा दुवै उम्मेदबारले एक अर्कालाई झुठो भनेका थिए । ह्यारिसले ट्रम्पको पालामा अमेरिकाको अर्थतन्त्र नराम्रो रहेको र आफुहरु त्यसलाई सुधार्नमै ब्यस्त रहनु परेको उल्लेख गरेका थिए । त्यसको बदलामा ट्रम्पले ह्यारिससँग कुनै पनि योजना नै नरहेको जिकिर गरेका थिए ।

ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए ।

ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूको विकासको कुरा गरिन् ।

गर्भपतन अधिकारका विषयमा पनि ट्रम्प र ह्यारिसबीच चर्को बहस भएको थियो । ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन्।

ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराइरहिन् । ट्रम्पले ह्यारिसलाई “इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति” भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए ।

युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले “युद्धको अन्त्य चाहेको” जबाफ दिएका थिए । इजरायलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले ”दुई राज्यको समाधान” र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने ।

अमेरिकी संसद् भवनमा भएको ६ जनवरीको दङ्गाका बारेमा सोधिँदा ट्रम्पले त्यसबारे आत्मालोचना गर्न अस्वीकार गरेका थिए । ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन् । त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ११ : ०२ बजे