२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

अमेरिकी राष्ट्रपतीय चुनाव: ह्यारिस र ट्रम्पको अन्तिम् दौड, एकअर्काबिरुद्ध गम्भिर आरोप



अमेरिकी राष्ट्रपतिका लागि २०२४ को चुनाव आउन एक साता मात्र बाँकी हुँदा डेमोक्र्याट कमला ह्यारिस र रिपब्लिक डोनाल्ड ट्रम्पको दौडधुप बढेको छ । अमेरिकी मतादातालाई प्रभावित बनाउनका लागि उनीहरुबीच दौडधुप मात्र चलेको छैन, एकअर्काबिरुद्ध आरोपको बर्षा गरिरहेका छन् ।

ह्यारिसले राष्ट्रलाई पार्टीभन्दा माथि राख्ने बाचा गर्दै ट्रम्प व्यक्तिगत फाइदा र बदला लिने सोचमा मात्र केन्द्रित रहेको आरोप लगाएकी छन् । ह्वाइट हाउस नजिकैको एउटा भिडलाई सम्बोधन गर्दै, ह्यारिसले आफ्नो अन्तिम तर्क भनेकी छन्, “ट्रम्पको डर र विभाजनको राजनीति अस्वीकार गरौं, यो हामी होइनौं ।”

समाचार संस्था एपीका अनुसार म्याडिसन स्क्वायर गार्डेनमा ४८ घण्टाअघि ट्रम्पले ह्यारिसले सबैलाई तहसनहस बनाएको आरोप लगाएका थिए । उनका समर्थकहरूले पोर्टो रिकोलाई “फोहोरको तैरिरहेको टापु” भनेका थिए ।

आइतबार राती न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा ट्रम्पले आफ्नो चुनावी अभियानको अन्तिम सम्बोधन गरेका थिए । त्यहाँ उनका समर्थकहरूले उपराष्ट्रपति ह्यारिस र उनका आलोचकहरूमाथि अपमानजनक र जातिवादी टिप्पणीहरू गरेको बताइएको छ ।

दुई रात र २०० माइलको दूरीमा रहेका यी दुईवटा अन्तिम सम्बोधनहरुले ५ नोभेम्बरमा अमेरिकी मतदाताले सामना गर्न लागेको नेतृत्व र अमेरिकाको भविष्यको दुई फरक दृष्टिकोणलाई स्पष्ट रूपमा देखाएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

ट्रम्पको सभामा अशिष्ट र जातिवादी अपमानजनक भाषा उल्लेख्य रहेपनि उनका समर्थकहरुले उनलाई अर्थतन्त्र सुधार्ने र सिमानाको सुरक्षा गर्ने व्यक्तिका रुपमा उभ्याउन खोजिएको छ ।

अर्कोतर्फ चार वर्षदेखि उपराष्ट्रपति रहेकी ह्यारिसले ट्रम्पले प्रजातन्त्रमा पुर्याउने खतरालाई देखाउन ह्वाइट हाउस नजिकको घाँसे मैदानमा आफ्नो तर्क प्रस्तुत गरेकी छन् । ह्यारिसले ट्रम्पबाट केवल अमेरिकी प्रजातन्त्रलाई खतरा पुर्याउने कुरा मात्र गरिन्न उनले आफ्ना व्यक्तिगत फाइदालाई राष्ट्रको हितभन्दा माथि राख्ने इतिहास रहेको पनि उल्लेख गरिन् ।

“डोनाल्ड ट्रम्पले दशकौंसम्म अमेरिकी जनतालाई विभाजित र एकअर्कालाई डराउन बाध्य पार्ने काम गर्दै आएका छन् । यो उनकै पहिचान हो । तर अमेरिकीहरलाई म यहाँ भन्न चाहन्छु, यो हाम्रो पहिचान होइन,” ह्यारिसले भनिन्, “म सबै अमेरिकीहरूको लागि राष्ट्रपति हुने वाचा गर्छु – सधैं राष्ट्रलाई पार्टी र आफूमाथि राख्नेछु ।”

आफ्ना तर्कहरु मार्फत ह्यारिस अनिर्णित मतदाताहरू तथा मध्यमार्गी रिपब्लिकनहरूलाई लक्षित गरिरहेकी छन् भने ट्रम्पको टोली आफ्नो पक्षधरलाई सक्रिय बनाउन र देशको वर्तमान स्थितिप्रति असन्तुष्ट रहेका र परिवर्तन खोजिरहेका विभिन्न विचारधाराका मतदातालाई लक्षित गरेर सक्रिय छन् ।

ट्रम्पले एउटा सरल तर एकदमै पेचिलो प्रश्न सोध्ने गरेका छन्, “चार वर्षअघि मेरो पहिलो कार्यकालको अन्त्यमा भन्दा अहिले तपाई राम्रो अवस्थामा छन् कि छैनन्?” ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने, राजस्व सृजना गर्ने र अमेरिकी उत्पादनलाई बढावा दिने बाचा गरेका छन् ।

ट्रम्पले ह्यारिसको नेतृत्वले राष्ट्रका सिमानाहरूलाई ध्वस्त बनाएको, मध्यम वर्गलाई नष्ट पारेको तथा प्रमुख सहरहरूमा हिंसा र गरिबी फैलाएको, विश्वभर युद्ध र अराजकता मच्चाएको गम्भीर आरोप लगाए । “घरभित्र र बाहिर यति धेरै विनाश र मृत्यु ल्याउने व्यक्तिलाई कहिल्यै पनि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्न दिनु हुँदैन,” ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई भनेका छन् ।

ह्यारिसले भने ट्रम्पलाई प्रतिशोधमा रमाउने ब्यक्ति भन्दै भनेकी छन्, “यो एक अस्थिर व्यक्ति हो, जसलाई प्रतिशोधको भूतले सताएको छ, वैमनस्यतामा डुबेका छन्, र अनियन्त्रित शक्ति चाहन्छन् ।”

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : ३३ बजे