गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ज्यान मुद्दामा डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ । तर, जिल्ला अदालतले भने विस्तृत कैदी पुर्जी पछि दिने गरी अहिले कारागार पठाएको बताएको छ।