ट्रम्प होटेलको बाहिर पार्क गरिएको एक टेस्ला साइबरट्रक विष्फोट हुँदा चालकको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन् । ट्रकमा इन्धनका क्यानिस्टर र पटाका भरिएका थिए, जसका कारण यो घटना भएको हो । यो होटल अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको लक्जरी होटलहरु मध्ये एक हो ।
घटना बिहीबार बिहान ८:४० बजे (स्थानीय समय) भएको हो । ट्रक केही समयसम्म होटेलको मुख्य प्रवेशद्वारमा रोकिएर बसेपछि एक्कासि धुवाँ निस्कन थाल्यो र ठूलो विष्फोट भएको थियो ।
लस भेगस प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै ट्रक कोलोराडोबाट भाडामा लिइएको र घटना हुनु केही घण्टा अघि मात्र लस भेगस आइपुगेको बीबीसीले जनाएको छ । प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएको छ ।
शेरिफ म्याकमहिलले विष्फोटको ड्रामाटिक भिडियो र त्यसपछि बचेका इन्धनका क्यानिस्टर र पटाकाका अवशेष सार्वजनिक गरेका छन् । उनले भने, “यो ट्रम्प होटेल, टेस्लाको साइबरट्रकलगायतका धेरै कुराहरुले घट्नाको उद्देश्य र संभावित संलग्नताबारे थुप्रै प्रश्न खडा गर्छ ।”
एफबीआईले यो घटना आतंकवादी गतिविधि हुन सक्ने सम्भावना रहेको भन्दै अनुसन्धान गरिरहेको छ । तर, हालसम्म घटनामा इस्लामिक स्टेट (आईएस) समूहको संलग्नता पुष्टि भएको छैन ।
यसअघि, न्यु अर्लिन्समा ट्रक आक्रमणमा १५ जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए । दुबै घटनाका समानता हेर्दै अधिकारीहरूले दुबै घटनाको सम्बन्धबारे पनि अनुसन्धान गरिरहेका छन् ।
राष्ट्रपति जो बाइडेनले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै भनेका छन्, “न्यु अर्लिन्सको आक्रमण र लस भेगसको विष्फोटबारे जाँच गरिरहेका छौं । हामीले कुनै पनि सम्भावित सम्बन्धबारे छिट्टै सत्यतथ्य पत्ता लगाउनेछौं ।”
ट्रम्प होटेलका प्रवक्ताले सुरक्षालाई उच्च प्राथमिकता दिएको र अग्नि नियन्त्रण र प्रहरी विभागलाई तीव्र प्रतिकारका लागि धन्यवाद व्यक्त गरेका छन् । यस घटनापछि होटेल खाली गराइएको छ, र पाहुनाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरीका अनुसार ट्रक भाडामा लिने व्यक्तिको नाम पहिचान गरिएको छ, तर चालकको पहिचान पुष्टि भएको छैन । टुरो, ट्रक भाडामा दिने कम्पनीले, दुबै घटनाका अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
घटनापछि लस भेगस बुलेवार्ड क्षेत्रमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।