अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको उद्घाटन समारोह परम्परागतभन्दा भिन्न र भव्य हुने अपेक्षा गरिए थियो । तर सो मौसमका कारण यो हालभित्र सिमित हुने भएको छ ।
यसपटकको उद्घाटनमा चर्चित कलाकारहरू, प्रभावशाली अर्बपतिहरू, र विदेशी नेताहरूको उपस्थिति रहनेछ । आठ वर्षअघि पहिलो कार्यकालको उद्घाटनमा ट्रम्पलाई टाढा राखेका धेरै व्यवसायिक र वैश्विक नेताहरू यसपटक सहभागी हुनेछन् ।
राष्ट्रपति ट्रम्प, मेलानिया ट्रम्प, उनका पाँच सन्तान र नातिनातिनाहरू समारोहमा सहभागी हुनेछन् । डोनाल्ड ट्रम्प जुनियर र लारा ट्रम्पको प्रभाव बढ्दो छ ।
क्यापिटल रोटुन्डामा करिब छ सय जनामात्र अटाउन सक्ने भएकाले सुप्रीम कोर्टका न्यायाधीश, पूर्व राष्ट्रपतिहरू, क्याबिनेट सदस्यहरू, र कांग्रेसका सदस्यहरूले प्राथमिकता पाउनेछन् । केही डेमोक्रेटिक सांसदहरूले भने समारोह बहिष्कार गर्ने घोषणा गरेका छन् ।
टेस्ला र एक्सका मालिक एलन मस्क, मेटाका सीईओ मार्क जकरबर्ग, टिकटकका सीईओ शोउ जि चेव, अमेजनका संस्थापक जेफ बेजोस र ओपनएआईका सीईओ साम अल्टम्यान पनि निम्त्याइएका छन् ।
ग्राम्मी विजेता क्यारी अण्डरवुडले “अमेरिका द ब्यूटीफुल” गाएर उद्घाटन समारोह प्रारम्भ गर्नेछिन् । १९७० को दशकको डिस्को समूह भिलेज पिपलले पनि आफ्नो चर्चित गीत “वाई.एम.सी.ए.” प्रदर्शन गर्नेछन् ।
ट्रम्पका प्रिय कलाकारहरू मध्ये क्रिस्टोफर माच्चियोले “द स्टार स्पाङ्गल्ड ब्यानर” गाउनेछन् भने ली ग्रिनवुडले “गड ब्लेस द युएसए” प्रस्तुत गर्नेछन् । अन्य प्रदर्शनमा ग्याभिन डिग्रो, जेसन एल्डिन, पार्कर मकलम र रास्कल फ्ल्याट्स सामेल छन् ।
ट्रम्पले आफ्नो उद्घाटन सम्बोधनमा “एकता, शक्ति र निष्पक्षता” मा जोड दिने बताइएको छ । उनले अमेरिकामा “सुनौलो युग” ल्याउने र आयातमा ट्यारिफ लगाउने योजना प्रस्तुत गर्ने संकेत दिएका छन् ।
विदेशी नेताहरूमा चिनियाँ राष्ट्रपति सी जिनपफिङले समारोहमा उपस्थिति जनाउने अपेक्षा गरिएको थियो, तर उनले उपराष्ट्रपति हान झेङलाई विशेष प्रतिनिधि बनाएर पठाउने निर्णय गरेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मीलै र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले निमन्त्रणा स्वीकार गरेका छन् ।