१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

आगलागीबाट २२ को मृत्यु, १६५६ परिवार प्रभावित



यो वर्ष सुरु भएयता १४ सय ४२ आ लागीको घटनामा २२ जनाको मृत्यु भएको छ । 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले उल्लेख गरे अनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ पुरुष र १६ जना महिला रहेका छन् ।

 चालु आर्थिक वर्ष (२०८०/०८१) यही अवधिमा आगलागीका घटनाबाट १६ सय ५६ घर परिवार प्रभावित भएका छन् । आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबरको क्षति भएको सहसचिव पाण्डेले बताए ।

उनले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको पनि बताए । उनले तीन महिनाको यो अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको बताए ।

सहसचिव पाण्डेले डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताउँदै आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए ।

उनले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालनको व्यवस्था मिलाइएको पनि बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ५७ बजे