पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले करिब ५० हजार नेपाली प्रभावित हुन सक्ने बताएका छन् । ट्रम्पको गैरुकानुनी आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने नीतिका बारेमा उनले यस्तो बताएका हुन् ।
‘अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने ट्रम्पको नीति छ, सायद नेपालीहरू पनि ठूलै संख्यामा ओभरस्टे वा अवैध बाटोबाट प्रवेश गरेका छन्, उनीहहरू प्रभावित हुन सक्छन्,’ मंगलबार एक कार्यक्रममा उनले भने, ‘त्यो संख्या ५० हजारको हाराहारीमा हुन सक्छ भन्ने अनुमान छ । तिनलाई फर्काउने स्थिति देख्छु मैले ।’
हालै ट्रम्पले बैदेशिक सहायतामा गरेको रोकबाट पनि नेपाल प्रभावित हुने उनको भनाई थियो । उनले ट्रम्प प्रशासन अर्थात् त्यहाँको रिपब्लिकन पार्टी गर्भपतनविरोधी भएकाले गर्भपतन र सुरक्षित मातृत्वसँग सम्बन्धित सहयोग रोकिने करिब निश्चित भएको उनको भनाई थियो । दोस्रो जलवायु परिवर्तनको विपक्षमा ट्रम्प प्रशासन रहेकाले नेपाल असाध्यै ठूलो जोखिममा रहेको जलवायु प्रभावित सम्बन्धी अमेरिकी सहयोग पनि कटौती हुने उनले औल्याए ।
त्यस्तै नेपालको व्यापारमा समेत ट्रम्प नीतिको असर पर्न सक्ने उनको भनाई रह्यो । नेपालको ७६ वटा उत्पादनहरु अमेरिकी बजारमा बिनाकोटा, बिनाभन्सार पहुँच पाएको छ र त्यसले अमेरिकासँगको व्यापार थोरै भए पनि नाफा रहेको उल्लेख गर्दै त्यसमा समीक्षा भएको अवस्थामा केही घाटा हुने उनले बताए।
यूएसआईडीमार्फत हुने वर्षको १४/१५ अर्ब रुपैयाँ सहयोग र एमसीसीको एकमुष्ट ५० अर्ब रुपैयाँ लगायतका सहयोगमा केही शीर्षकहरू परिवर्तन भए पनि नरोकिने उनको आकलन छ । ‘आखिर अमेरिकालाई पनि अन्तर्राष्ट्रिय एलाइन्स त चाहिएला नै,’ उनले भने, ‘त्यसो भएको हुनाले केही केही कुरामा चेन्ज भए पनि सहयोगले निरन्तरता पाउला भन्ने अपेक्षा गर्दछु । ’









