११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पछिल्लो ६ वर्षमा ३ सय ८९ नेपाली अमेरिकाबाट डेपोर्ट, यस वर्ष एक हजारभन्दा धेरै हुन सक्ने 



अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले पछिल्लो ६ वर्षमा गैरकानुनी रूपमा बसोबास गरिरहेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको  जनाएको छ । 

आईसीईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१९ देखि २०२४ सम्मको अवधिमा यी नेपालीहरूले बसोबासका लागि आवश्यक कानुनी कागजात नभएकाले निष्कासन (डेपोर्ट) गरिएको हो ।

यसबाहेक, यसअघि नै आईसीईले अमेरिकामा अझै १ हजार ३ सय ६५ नेपाली गैरकानुनी रूपमा बसोबास गरिरहेको उल्लेख गरेकोले उनीहरूलाई पनि निष्कासन गर्ने सम्भावना रहेको छ।  

प्रतिवेदन अनुसार, सन् २०१९ मा १ सय ६२ जना, २०२० मा ९७ जना, २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जनालाई नेपाल फर्काइएको छ। यी नेपालीहरूले अमेरिकामा बसोबासका लागि कुनै पनि कानुनी आधार नराखेका थिए।

आईसीईका अनुसार, गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका व्यक्तिहरूले बसोबासका लागि कुनै कानुनी कागजात नपाएकाले उनीहरूलाई पक्राउ गरी सम्बन्धित देश फर्काइएको हो। आईसीईले यसप्रक्रियालाई छोटो समयमै निर्वाह गरेको बताएको छ। यसरी निष्कासन गरिएका नेपालीहरूले आफ्नो देशको नागरिकता वा पासपोर्टसमेत नभएको अवस्थामा सोधपुछपछि निष्कासन गरिएको आईसीईले जनाएको छ।

यसका साथै, यो अवधिमा अमेरिकाबाट कुल ९ लाख ९८ हजार ३ सय ३४ जना कागजातविहिन आप्रवासीलाई निष्कासन गरिएको छ। यस वर्ष मात्र १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने आईसीईको तयारी छ।

निष्कासन गरिएका व्यक्तिहरूमा सबैभन्दा बढी संख्या मेक्सिकोका नागरिकहरूको छ। यस अवधिमा ४ लाख ३४ हजार ८ सय २७ मेक्सिकनलाई अमेरिकाबाट निष्कासन गरिएको छ। यसका साथै ग्वाटेमालाका १ लाख ८५ हजार ७ सय १३ र होन्डुरसका १ लाख ४२ हजार ३ सय ४९ जनालाई पनि आफ्नै देश फर्काइएको छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १० : २७ बजे