२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

पत्रकारको सुरक्षामा गम्भीर बन्न नेपाल सरकारलाई नेजाको आग्रह



नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपालमा राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोमा उनी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार सुरक्षाको लागि नेपाल सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

आन्दोलनका क्रममा पत्रकार दिनेश गौतममाथि कुटपिट, अन्नपूर्ण मिडिया समूहको कार्यालय भवनमा तोडफोड तथा आगजनी, कान्तिपुर टेलिभिजन भवनमा ढुङ्गामुडा, र हिमालय टेलिभिजनको सवारीसाधनमा तोडफोड भएकोमा आपत्ति प्रकट गरेको छ । उसले पत्रकारहरूमाथि हुने आक्रमण प्रेस स्वतन्त्रतामाथिको खतरा भएको पनि बताएको छ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गरे पनि पछिल्ला घटनाले पत्रकारहरू असुरक्षित छन् भन्ने सन्देश दिएको नेजाले जनाएको छ । विज्ञप्तिमा सरकारले पत्रकारको जिउ-ज्यानको रक्षा, सञ्चारमाध्यमको संरक्षण, र निर्भीक पत्रकारिताको वातावरण निर्माण गर्न गम्भीर बन्नुपर्ने उल्लेख छ ।

नेजाले नेपाल सरकारलाई प्रेस स्वतन्त्रता संरक्षण, सञ्चारमाध्यमको सुरक्षामा ध्यान दिन र पत्रकारमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । साथै, निष्पक्ष पत्रकारिता गर्न पाउने वातावरण निर्माणका लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १२ : ११ बजे