५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

अन्तत् आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता हुने, बार्ता टोली गठन



पटक पटक बोलाउँदा पनि नआएको शिक्षकहरु अब भने सरकारसँग बार्तामा बस्ने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ ।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो । ‘आज शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाउनु भएको थियो । हामीले जाने निर्णय गरेका छौं,’ पराजुलीले भनेकी छन् । वार्ता बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने बताइएको छ ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघि तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।

अहिलेको अवस्थामा संसद्‍को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाउँदै आएको थियो ।

शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर बुधबार फेरि पत्र पठाएपछि महासंघले वार्ता टोली बनाएको बताइएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ११ : ५३ बजे