अमेरिकी संघीय अनुसन्धान ब्यूरोका अधिकृतहरुले विस्कन्सिन राज्यको मिलवाकी काउन्टीकी सर्किट न्यायाधीश ह्यान्ना डुगानलाई शुक्रबार पक्राउ गरेको छ । उनलाई अवैध आप्रवासीलाई पक्राउबाट जोगाउन सहयोग गरेको आरोप लगाइएको छ ।
एफबीआइका निर्देशक काश पटेलले सामाजिक सञ्जालमा जानकारी दिँदै भनेका छन्, “न्यायाधीश डुगानले पक्राउको तयारीमा रहेका एक आप्रवासीलाई कोर्टको गोप्य ढोका हुँदै भाग्न मद्दत गरे । त्यसले सुरक्षालाई थप जोखिम बनायो ।”
सीएनएद्दका अनुसार डुगानविरुद्ध ‘अवरोध र गोप्य संरक्षण’ सम्बन्धी दुईवटा अभियोग लगाइएको छ । अभियोजन अनुसार, डुगानले घरेलु हिंसाको मुद्दामा संलग्न मेक्सिकन आप्रवासी एडुआर्डो फ्लोरेस-रुइजलाई गोप्य ढोकाबाट अदालतबाट बाहिर निस्कन निर्देशन दिएकी थिइन्, त्यसबेला एफबीआइका अधिकारीहरू उनलाई पक्राउ गर्न अदालतबाहिर पर्खिरहेका थिए ।
फ्लोरेस-रुइज सन् २०१३ मा अमेरिकाबाट निष्कासित भएका थिए तर पछिल्लो पटक फेरि अवैध रूपमा फर्किएको पाइएको थियो । अधिकारीहरूका अनुसार उनको फिंगरप्रिन्ट र फोटो हालसालैको पक्राउपछि दर्ता फाइलसँग मिलेको थियो ।
घटनाको विवरण अनुसार, डुगानले सुरक्षाकर्मीलाई एजेन्टहरूबारे जानकारी दिइएको फोटो हेरेपछि रिसाएका थिइन् र अदालतको कारबाहीपछि अभियुक्तलाई अर्को ढोका हुँदै भगाएकी थिइन् ।
एफबीआइका अनुसार, एजेन्टहरूले फ्लोरेस-रुइजलाई अदालत भवनबाहिर भेटेर पक्राउ गरेका थिए । यस गिरफ्तारीलाई डेमोक्र्याट सांसद ग्वेन मुरले “अत्यधिक हस्तक्षेप”को रूपमा लिएकी छन् । उनले भनिन्, “संघीय निकायले न्यायाधीशलाई यसरी गिरफ्तार गर्नु गम्भीर विषय हो र यसका लागि कानुनी रूपमा उच्च आधार चाहिन्छ ।”
डुगानलाई प्रारम्भिक सुनुवाइपछि रिहा गरिएको थियो ।