प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध पारेका छन् । सत्तापक्ष दलका सांसदहरु भने गृहमन्त्रीको बचाउमा उत्रिएको छ । मंगलबार दिनभर पटक पटक संसद अबरुद्ध भएपछि बुधबारसम्मको लागि स्थगित गरिएको छ । यसले १४ महिनाअघि तत्कालिन गृहमन्त्री रवि लामिछानेमाथी सहकारी ठगी काण्डमा छानविनका लागि गरिएको संसद अबरुद्धको घट्नाको संझना गराएको छ ।
के हो भिजिट भिसा प्रकरण?
हालै त्रिभुव विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईलाई अख्तियार अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरुले पक्राउ परेपछि त्यहाँ हुने अनियमितता र त्यसका लागि माथिल्लो तहसम्म हुने मिलेमतोका बारेमा विवरणहरु सार्वजनिक भएका थिए । सार्वजनिक भएका घटनाक्रम अनुसार तस्कर गिरोहसँग मिलेर करोडौं असुलेर नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने गरिएको आरोप गृहमन्त्री रमेश लेखकमाथि लागेको छ। आफ्नै सचिवालयदेखि अध्यागमनसम्मका कर्मचारीलाई अनुकुल अवस्था सिर्जना गरेर लेखकले मानव बेचबिखनलाई योगदान गरेको आरोप प्रतिपक्षी दलहरूले लगाएका छन्। यस प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै राजीनामा माग गरिएको छ ।
संसदमा दोहोरिएको १४ महिनाअघिको दृश्य
आजको संसद बैठकमा १४ महिनाअघिको दृश्य दोहोरियो। त्यतिबेला एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा थिए भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल थियो। रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री थिए र सहकारी ठगीमा उनको संलग्नता रहेको भन्दै कांग्रेसले राजीनामा मागेर संसदका २२ वटा बैठक अवरुद्ध पारेको थियो।
त्यतिबेला कांग्रेसका तत्कालीन प्रमुख सचेतक रमेश लेखकले रवि लामिछानेलाई नैतिकताको पाठ पढाउँदै आरोप लागिसकेपछि जो कोहीले पनि निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका थिए। संयोगवश, अहिले रमेश लेखक स्वयं गृहमन्त्री छन् र उनीमाथि नै मानव बेचबिखनमा संलग्नताको आरोप लागेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरू माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी लगायतका सांसदहरू आ-आफ्ना स्थानबाट उठे। सभामुख देवराज घिमिरेले पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरू बसेनन्। रास्वपा सांसद शिशिर खनाल र नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन समितिको माग गरे।
विपक्षीको अडान र गृहमन्त्रीमाथि नैतिकताको प्रश्न
सांसद शिशिर खनालले गृहमन्त्री लेखकलाई २०८० चैत ३ गते संसदमा उनले नै राखेका बोली स्मरण गराए। उनले रवि लामिछानेमाथि प्रश्न उठाउँदै गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका लेखकको त्यतिबेलाको बोली आज उनीमाथि नै लागू हुने कि नहुने भन्दै प्रश्न उठाए। रास्वपाले गृहमन्त्री लेखकको राजीनामालाई “बटमलाइन” बनाएको छ। उनीहरूको तर्क छ कि मानव तस्करसँगको मिलेमतोमा यति ठूलो रकमको चलखेल राजनीतिक संरक्षणबिना सम्भव छैन।
माओवादी सांसद वर्षमान पुनले पनि कसैलाई अहिले नै आरोपित गर्न नचाहेको बताउँदै अनुसन्धानलाई सघाउन लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरे। उनले गम्भीर विषय उठिसकेपछि निष्पक्ष छानबिनका लागि वातावरण बनाउनुपर्ने र त्यो अवस्था नबनेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नसक्ने जानकारी गराए।
सभामुखको प्रयास असफल, संसद अवरुद्ध
विपक्षीको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेर सहमति खोज्ने प्रयास गरे। करिब पाँच घण्टाको छलफलपछि पनि सत्ता र प्रतिपक्ष आ-आफ्ना अडानबाट टस-मस नभएपछि सहमति हुन सकेन। सत्तापक्षले गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने अडान राखेको थियो भने प्रतिपक्षले गृहमन्त्रीको राजीनामा नभएसम्म संसद चल्न नदिने अडान दोहोर्यायो।
नेपालमा राजनीतिक अडानका कारण संसदीय गतिरोधको यो पहिलो घटना भने होइन। १४ महिनाअघि पनि २२ दिनसम्म संसद अवरुद्ध भएको थियो। यसपटकको गतिरोध कति लामो हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन। बुधबार बिहान विपक्षी दलको बैठक बसेर संसदमा प्रस्तुत हुने बारे थप छलफल हुने बताइएको छ। यो प्रकरणले नेपाली राजनीतिमा सत्ता र प्रतिपक्षबीचको टकरावलाई अझै बढाउने देखिन्छ।









